logo

२०८३ भाद्र २३ मंगलबार

श्रद्धाले ‘डियर काव्या’को निर्देशन सम्हाल्ने

श्रद्धाले ‘डियर काव्या’को निर्देशन सम्हाल्ने

325
SHARES
श्रद्धाले ‘डियर काव्या’को निर्देशन सम्हाल्ने

हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’मार्फत परिचित निर्देशक तथा अभिनेत्री श्रद्धा प्रसाईं पछिल्लो समय फिल्म निर्देशनमा समेत सक्रिय हुँदै गएकी छन् । उनको पहिलो निर्देशकीय फिल्म ‘ककाकिकी’ आगामी भदौ १९ गते प्रदर्शनमा आउँदैछ ।

फिल्म निर्देशनमा उनको व्यस्तता यतिमै रोकिएको छैन । अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको कमेडी फिल्म ‘काउकुती’को निर्देशनको जिम्मेवारी पनि श्रद्धाले पाएकी छन् । उक्त फिल्म यसै वर्ष निर्माण गर्ने तयारीमा छ ।

तर, ‘काउकुती’अघि नै श्रद्धाले अर्को फिल्म ‘डियर काव्या’को निर्देशन सम्हाल्ने भएकी छन् । बिहीबार काठमाडौंको विजेश्वरीस्थित होटल बज्रमा आयोजित कार्यक्रममा फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । सोही अवसरमा फिल्मको ३० फिट लामो फर्स्टलुक पोस्टरसमेत सार्वजनिक गरियो ।

आगामी मंसिरमा छायांकनमा जाने तयारीमा रहेको फिल्ममा उपासना सिंह ठकुरी र विक्की शमशेर खड्का मुख्य भूमिकामा रहनेछन् । थिएटरमा सक्रिय विक्कीले ‘डियर काव्या’बाट फिल्ममा डेब्यू गर्न लागेका हुन् ।

फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा देवी सिंह र हेमकुमारी भेटुवालले फिल्म निर्माण गर्नेछन् । दीया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता छन् । अभिनेत्री दीयाले यही फिल्ममार्फत निर्माणमा समेत पाइला चाल्न लागेकी हुन् । यद्यपि, उनको अभिनय रहने वा नरहनेबारे निर्माण पक्षले खुलाएको छैन ।

‘डियर काव्या’को छायांकन नेपालगन्जमा गर्ने तयारी भइरहेको छ । ‘ककाकिकी’पछि लगातार दुई फिल्मको निर्देशन जिम्मेवारी पाएकी श्रद्धाको करिअरमा ‘डियर काव्या’ अर्को महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ ।


शुक्रबार, ५ भाद्र २०८३
सम्बन्धित समाचार
Go