logo

२०८३ भाद्र २६ शुक्रबार

सुहानालाई ‘बा: एक योद्धा’ फरक र रोचक लाग्यो

सुहानालाई ‘बा: एक योद्धा’ फरक र रोचक लाग्यो

390
SHARES
सुहानालाई ‘बा: एक योद्धा’ फरक र रोचक लाग्यो

अभिनेत्री सुहाना थापाले चलचित्र ‘बा: एक योद्धा’ आफूले यसअघि काम गरेका चलचित्रभन्दा फरक र रोचक रहेको बताएकी छन् । भदौ १९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलाई लिएर उनले दर्शकलाई फिल्म हेर्न आग्रहसमेत गरेकी छन् ।

सुहानाका अनुसार चलचित्रमा सन्तानको भविष्यका लागि आमाबुवाले गर्ने त्याग, संघर्ष र समर्पणलाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ । आफ्ना लागि फिल्मसँगै आफूले निर्वाह गरेको पात्र पनि विशेष रहेको उनको भनाइ छ ।

आफूहरूले बाल्यकालदेखि नै आमाबुवाले आफ्ना लागि गरेका अनेकौं त्याग सम्झिए पनि त्यसलाई उनीहरूकै अगाडि खुलेर व्यक्त गर्न नसक्ने सुहानाले बताइन् । चलचित्रमा आफ्नो पात्रमार्फत बाबाले सन्तानका लागि गर्ने त्याग र समर्पणलाई बुझ्ने अवसर पाएको उनको भनाइ छ ।

फिल्ममा मनोरञ्जनसँगै दर्शकसँग जोडिने विषयवस्तु रहेको सुहानाको विश्वास छ । कथा आफ्नै जीवनसँग सम्बन्धित जस्तो महसुस हुने र सुरुदेखि अन्त्यसम्म दर्शकलाई बाँधेर राख्ने भएकाले चलचित्र हेर्न उनले आग्रह गरेकी छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बा: एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा रिलिज हुँदैछ । नेपाली समाजमा सन्तानको भविष्य निर्माणका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई फिल्मको मुख्य विषय बनाइएको छ ।

चलचित्रमा सुहानासँगै दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ ।

संगीतकार तथा गायकसमेत रहेका हरि लम्सालको फिचर फिल्म निर्देशनमा यो पहिलो प्रयास हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा र पटकथा पनि लम्सालले नै तयार पारेका हुन् ।

वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताको भूमिकामा छन् । शिवराम श्रेष्ठको छायांकन र तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।


आइतबार, ७ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go