चर्चित हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फेरि नयाँ हास्य प्रस्तुतिसहित दर्शकमाझ आउने भएका छन् । यसपटक उनीहरूले नेपालबाट नभई अमेरिकाबाटै नयाँ हास्य सिरियल निर्माण गरेका हुन् । ‘म त मर्छु कि क्या हो’ नाम दिइएको सिरियल अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्रमा राखेर तयार गरिएको छ ।
धुर्मुस सुन्तली मिडियाको निर्माणमा बनेको सिरियल हरेक शुक्रबार नेपाली समयअनुसार साँझ ८ः१५ बजे धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत प्रसारण हुनेछ । अमेरिकामा भने सोही दिन बिहान १०ः३० बजे सिरियल प्रसारण हुने बताइएको छ । सिरियलको शीर्षक धुर्मुसको विगतमा चर्चित संवाद तथा थेगोबाट लिइएको हो ।
नयाँ सिरियलमा सीताराम र कुञ्जना आफ्नै चर्चित पात्र धुर्मुस र सुन्तलीको भूमिकामा देखिनेछन् । उनीहरूकै निर्देशनमा बनेको सिरियलमा वरिष्ठ हास्यकलाकार मोहन मिश्र पनि मुख्य भूमिकामा छन् । ‘होस प्रसाद’ र ‘मिस्टर फन्टुस’ जस्ता लोकप्रिय हास्य कार्यक्रमसँग जोडिएका मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन् ।
सिरियलमा दिनेश कार्की, शंकरराज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईं, चुडा धिमाल र धर्म भारतीलगायत कलाकारको अभिनय छ । विशेष आकर्षणका रूपमा धुर्मुस–सुन्तलीकी छोरी सुबिहानी कट्टेलले पनि बाल कलाकारका रूपमा यसै सिरियलबाट अभिनय यात्रा सुरु गरेकी छन् ।
राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत र राजेन्द्र मानन्धरको सम्पादन रहेको छ ।
अमेरिकामा रहेका नेपालीको जीवनलाई कथाको मुख्य आधार बनाइएको सिरियलमा प्रवासमा बस्दा आइपर्ने संघर्ष, अवसर, सफलता र चुनौतीलाई हास्यव्यंग्यको माध्यमबाट प्रस्तुत गरिनेछ । त्यहाँको नेपाली समुदाय, सामाजिक तथा सांस्कृतिक परिवेश र प्रवासी नेपालीका विभिन्न अनुभवलाई समेत कथामा समेटिएको निर्माण पक्षले जनाएको छ ।
नेपालबाट टाढा रहेर पनि नेपाली दर्शकसँग जोडिने प्रयासस्वरूप तयार गरिएको सिरियलमार्फत धुर्मुस–सुन्तलीले आफ्नो पुरानो हास्य शैलीलाई नयाँ परिवेशमा प्रस्तुत गर्न लागेका छन् । लामो समयपछि उनीहरूको नयाँ हास्य सामग्री आउन लागेकाले सिरियललाई लिएर दर्शकमाझ चासो बढेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd