सगरमाथाको साहस, संघर्ष, सपना र हिमाली वातावरणमा आइरहेको परिवर्तनलाई विषय बनाइएको नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर काठमाडौंमा सम्पन्न भएको छ । शनिबार ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा वृत्तचित्रका तीन विशेष शो आयोजना गरिएका थिए ।
कार्यक्रममा सञ्चारकर्मी, शिक्षाविद्, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि, कलाकार, विभिन्न विद्यालय तथा कलेजका सञ्चालक, प्रिन्सिपल र दर्शकहरूको उपस्थिति थियो । शैक्षिक क्षेत्रका प्रतिनिधिका लागि छुट्टै विशेष शो समेत राखिएको थियो ।
निर्देशक निर्मल श्रेष्ठले सगरमाथालाई केवल चिनाउने नभई यसको महत्व र नेपालीसँगको सम्बन्ध बुझाउने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको बताए । उनका अनुसार सगरमाथा नेपाली साहस, सपना, संघर्ष, पहिचान र भविष्यसँग जोडिएको राष्ट्रिय गौरव हो । लामो समयदेखि सगरमाथाको कथा अरूको दृष्टिकोणबाट सुनिँदै आएको भन्दै उनले अब नेपालीले आफ्नै हिमालको कथा आफ्नै दृष्टिकोणबाट भन्नुपर्ने बताए ।
श्रेष्ठले ‘रोड टु एभरेस्ट’लाई भावी पुस्ताका लागि महत्वपूर्ण दस्तावेजका रूपमा समेत व्याख्या गरेका छन् । हिमालको स्वरूपमा भविष्यमा ठूलो परिवर्तन आए पनि आजको हिमाल, त्यसको सौन्दर्य, संघर्ष र त्यससँग जोडिएका अनुभवलाई वृत्तचित्रले सुरक्षित राख्ने उनको भनाइ छ ।
वि विल राइज फाउण्डेसनका अध्यक्ष तुलसी गुरुङले सगरमाथा विश्वभर परिचित भए पनि यसको वास्तविक महत्वलाई नेपाली दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयासस्वरूप वृत्तचित्र बनाइएको बताए ।
करिब ५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहबाट विश्वको सर्वोच्च शिखरसम्मको यात्रालाई कथाको आधार बनाएको छ । यसमा पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान र जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई समेटिएको छ ।
वृत्तचित्रको मुख्य कथा ५० वर्ष पार गरिसकेका राज गुरुङको सगरमाथा आरोहण यात्रामा केन्द्रित छ । उमेर र शारीरिक सीमालाई चुनौती दिँदै उनले अघि बढेको आरोहण यात्रालाई सपना, संघर्ष, आत्मविश्वास र दृढ संकल्पको कथाका रूपमा प्रस्तुत गरिएको छ ।
वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासँगै विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठको पनि सहभागिता छ । सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले संयुक्त रूपमा कथा लेखेको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको हो ।
सामाजिक संस्था वि विल राइज फाउण्डेसनले निर्माण गरेको ‘रोड टु एभरेस्ट’मा कुनै कृत्रिम वा कम्प्युटरबाट सिर्जित दृश्य प्रयोग नगरिएको निर्माण पक्षले जनाएको छ । नेपाली हिमाली सम्पदा तथा पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरबारे सचेतना फैलाउनु यसको प्रमुख उद्देश्य रहेको बताइएको छ ।
नेपाल प्रिमियरपछि वृत्तचित्रलाई देशका विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी भइरहेको छ । साथै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा सिनेमा हलमा समेत प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ । यसको अन्तर्राष्ट्रिय प्रिमियर आगामी भदौ २८ गते हङकङमा हुने जनाइएको छ ।
प्रिमियरपछि दर्शकले वृत्तचित्रको विषयवस्तु, प्रस्तुति र सन्देशको प्रशंसा गरेका थिए । उनीहरूले नेपालीले आफ्नै हिमालको कथा आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरेको र सगरमाथालाई नयाँ कोणबाट बुझ्ने अवसर दिएको प्रतिक्रिया दिएका छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd