चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली पनि जोडिएकी छन् । निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्ममा अञ्जना अनुबन्ध भएकी हुन् ।
यसअघि सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बराल फिल्मको मुख्य कलाकारमा जोडिइसकेका छन् । अञ्जनाको प्रवेशसँगै फिल्मको स्टारकास्ट थप बलियो बनेको निर्माण पक्षको भनाइ छ ।
निर्देशक चौधरीले दर्शकको रोजाइमा रहेका तथा कथाको मागअनुसारका कलाकारलाई फिल्ममा समेटिरहेको बताए । उनका अनुसार कलाकार छनोटको प्रक्रिया अझै जारी छ ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई मल्टिस्टार प्रोजेक्टका रूपमा तयार गरिँदैछ । उपन्यासकार बुद्धिसागरले कथा तथा पटकथा लेखेको यो फिल्मलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गरिने निर्देशक चौधरीले बताएका छन् ।
निर्माण पक्षले नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन फिल्म बनाउने तयारी गरेको छ । यसपटक सौरभले अघिल्ला फिल्मभन्दा निकै फराकिलो क्यानभासमा काम गर्ने योजना बनाएका छन् ।
फिल्मको छायांकन आगामी साताबाट सुरु हुनेछ । करिब ७० दिनको छायांकन तालिका तय गरिएको छ भने फिल्मको अधिकांश छायांकन पूर्वी नेपालमा गरिनेछ ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको फिल्ममा विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् । मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन डिरेक्टरका रूपमा रहनेछन् ।
ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डिसीएन वितरक रहेको फिल्मको निर्माण तयारी तीव्र पारिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd