logo

२०८३ भाद्र २८ आइतबार

युट्युबमा ‘झिंगे दाउ’को दबदबा, तीन दिनमै २९ लाखभन्दा बढी भ्युज

युट्युबमा ‘झिंगे दाउ’को दबदबा, तीन दिनमै २९ लाखभन्दा बढी भ्युज

  • kollywood 1
  • मंगलबार, ९ भाद्र २०८३
247
SHARES
युट्युबमा ‘झिंगे दाउ’को दबदबा, तीन दिनमै २९ लाखभन्दा बढी भ्युज

नेपाली फिल्म ‘झिंगे दाउ’ले हलपछि डिजिटल प्लेटफर्ममा पनि दर्शकको उल्लेख्य साथ पाइरहेको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको फिल्मले रिलिज भएको तीन दिन नपुग्दै २९ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको हो ।

युट्युबमा सार्वजनिक भएपछि फिल्मले लगातार दर्शकको ध्यान तानिरहेको छ । छोटो समयमै ठूलो संख्यामा दर्शकले फिल्म हेरेपछि ‘झिंगे दाउ’को डिजिटल लोकप्रियता पनि देखिएको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ ।

फिल्मले प्रदर्शनका क्रममा बक्स अफिसमा समेत राम्रो व्यापार गरेको थियो । हलमा दर्शकको साथ पाएको फिल्म युट्युबमा सार्वजनिक भएपछि पनि त्यसैगरी चर्चामा आउन सफल भएको हो ।

‘झिंगे दाउ’को पहिलो भागले युट्युबमा राम्रो भ्यूज पाइरहेका बेला यसको सिक्वेल ‘झिंगे दाउ २’ पनि प्रदर्शनको तयारीमा छ । ‘झिंगे दाउ २’का लागि तीजलाई लक्षित गरेर विशेष गीतको छायांकन गरिएको छ । गीतमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा मुख्य रूपमा देखिएका छन् ।

रातो सारीमा सजिएका केकी र आँचललाई गीतमा छमछमी नाच्दै गरेको देख्न सकिनेछ । गीतको कथावस्तुमा
जेठानी–देउरानीबीचको सम्बन्ध र उनीहरूबीच हुने झगडालाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको छ । गीतमा दुवै अभिनेत्रीको नृत्यसँगै आपसी भनाभनलाई पनि समेटिएको छ ।

बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । निर्माण पक्षले यो गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरेको छ । गीत भदौ १० गते सार्वजनिक गर्ने तयारी छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको ‘झिंगे दाउ २’ असोज २ गतेदेखि नेपालका हलमा प्रदर्शनमा आउनेछ ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा बनेको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ । रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा छन् ।
फिल्ममा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ ।

विष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेको फिल्मलाई मित्र डी. गुरुङले सम्पादन गरेका छन् । फिल्ममा अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ । ईश्वर घिमिरे प्रोडक्सन हेड हुन् ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको ‘झिंगे दाउ २’का लागि गोविन्दु फुयाँल र शिशिर चालिसेले लेखनमा सहकार्य गरेका छन् । फिल्मको टिजर सार्वजनिक भइसकेको छ भने टिजरले पनि दर्शकको ध्यान खिच्न सफल भएको निर्माण पक्षको दाबी छ ।

यसरी पहिलो भागले युट्युबमा पाएको उत्साहजनक प्रतिक्रियासँगै ‘झिंगे दाउ २’को प्रदर्शनलाई लिएर पनि दर्शकमाझ चासो बढेको छ । अब सिक्वेलले हलमा कस्तो व्यापार गर्छ भन्ने विषय नेपाली फिल्म क्षेत्रका लागि चासोको विषय बनेको छ ।


मंगलबार, ९ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go