लोकप्रिय गायक तथा कलाकार दुर्गेश थापाको नयाँ तीज गीत ‘बिचा बिचमा २.०’ले युट्युबमा तहल्का मच्चाएको छ । सार्वजनिक भएको एक सातामै गीतले झण्डै २० लाख भ्युजको आँकडा पार गर्न लागेको हो ।
दुर्गेश थापा प्रस्तुतकर्ता रहेको गीतमा दुर्गेश थापा, बाबिना किराती र बेनिशा पौडेलको स्वर रहेको छ । गीतका शब्द तथा संगीत पनि दुर्गेश थापाकै रहेको छ ।
‘बिचा बिचमा २.०’ सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गीतको भिडियोमा दुर्गेश थापा, करिश्मा केसी र स्मारिका ढकालसँगै बाल कलाकार दक्षिता थापा तथा विशेष उपस्थितिमा गुराँस नानीलाई देख्न सकिन्छ ।
गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । छायांकन पवन सुश्लिङ एन्ड टिमले गरेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ मिलन विश्वकर्माले गरेका छन् ।
गीतमा वाङच्यु फ्युबाको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । लाइभ इन्स्ट्रुमेन्टतर्फ गिटार तथा बाँजोमा सञ्जीव बराइली, बाँसुरीमा रत्न बीके, सारंगीमा हेमन्त कान्छा तथा ढिमडी, छाप्की, डाफ र मादलमा भुवन गन्धर्वको योगदान रहेको छ ।
तीजको माहोलसँगै सार्वजनिक भएको गीतले छोटो समयमै उल्लेख्य दर्शक तान्न सफल भएपछि निर्माण टिम पनि उत्साहित देखिएको छ । युट्युबमा बढ्दो भ्युजसँगै गीत सामाजिक सञ्जालमा समेत चर्चामा आउन थालेको छ ।
‘बिचा बिचमा २.०’को सफलताले दुर्गेश थापाको तीज गीतप्रतिको दर्शक आकर्षणलाई फेरि एकपटक पुष्टि गरेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd