logo

२०८३ भाद्र २८ आइतबार

चितवन पुग्यो ‘पार्वती’को टोली, नीताले भनिन्– ‘दर्शकले नयाँ अनुभव पाउनुहुनेछ’

चितवन पुग्यो ‘पार्वती’को टोली, नीताले भनिन्– ‘दर्शकले नयाँ अनुभव पाउनुहुनेछ’

  • kollywood 1
  • मंगलबार, ९ भाद्र २०८३
299
SHARES
चितवन पुग्यो ‘पार्वती’को टोली, नीताले भनिन्– ‘दर्शकले नयाँ अनुभव पाउनुहुनेछ’

नीताको ढुंगानाको निर्देशनमा तयार भएको चलचित्र ‘पार्वती’ प्रदर्शनको तयारीमा छ । भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारप्रसारका क्रममा निर्माण टोली देश दौडाहामा छ ।
यसैक्रममा ‘पार्वती’को टोली मंगलबार चितवन पुगेको हो । चितवनमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक, कथाकार तथा अभिनेत्री नीता ढुंगानाले चलचित्रले दर्शकलाई फरक विषय र स्वाद दिने बताइन् ।

अटिजम भएकी एक महिलाको जीवनकथालाई मुख्य विषय बनाइएको चलचित्रमा पारिवारिक सम्बन्ध, दिदी–भाइबीचको आत्मीयता, प्रेम र संघर्षलाई प्रस्तुत गरिएको छ । चलचित्रमा नीताले अटिजम भएकी महिलाको चरित्र निभाएकी छन् भने अशोक दर्जीले उनका भाइको भूमिका निर्वाह गरेका छन् ।
नीताले अशोकले निर्वाह गरेको भाइको भूमिकामा आफूले अरू कलाकारलाई कल्पना गर्न नसक्ने बताइन् । अटिजम जस्तो संवेदनशील विषयलाई पर्दामा प्रस्तुत गर्न आफूले लामो समय अध्ययन र तयारी गरेको उनको भनाइ छ ।

अटिजम भएकी महिलाको दैनिक जीवन र व्यवहारलाई नजिकबाट बुझेर पात्र निर्माण गरेको पनि नीताले बताइन् । चलचित्र प्रदर्शनपछि दर्शकले कथामार्फत प्रस्तुत गरिएको विषयमा आफैंले सोच्ने उनको विश्वास छ ।

अशोक दर्जीले ‘पार्वती’ सामाजिक विषयमा आधारित भएकाले सबैले हेर्नुपर्ने चलचित्र रहेको बताए । यस्तै, निर्माता हरिहर अधिकारीले चलचित्रको टिजर, ट्रेलर तथा गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको जानकारी दिए ।

उनले चलचित्र हलमा पुगेपछि यसको कथा र प्रस्तुतिले नै दर्शकलाई थप प्रतिक्रिया दिने बताए ।

चलचित्रमा नीता ढुंगाना र अशोक दर्जीसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ । ‘पार्वती’ भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।


मंगलबार, ९ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go