logo

२०८३ भाद्र २३ मंगलबार

६० वर्ष उमेर पूरा गरेका नागरिकले चलचित्र ‘गौँथली’ निःशुल्क हेर्न पाउने

६० वर्ष उमेर पूरा गरेका नागरिकले चलचित्र ‘गौँथली’ निःशुल्क हेर्न पाउने

338
SHARES
६० वर्ष उमेर पूरा गरेका नागरिकले चलचित्र ‘गौँथली’ निःशुल्क हेर्न पाउने

गौँथली’ निर्माण टिमले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै विशेष निःशुल्क सिनेमा अफर सार्वजनिक गरेको छ। आगामी भदौ १० देखि भदौ २१ गतेसम्म ६० वर्ष उमेर पूरा गरेका नागरिकले चलचित्र ‘गौँथली’ निःशुल्क हेर्न पाउने भएका छन्।

यस योजनाअन्तर्गत दर्शकले पहिले खल्ती एपमार्फत टिकट खरिद गर्नुपर्नेछ। टिकट खरिद गरेपछि आवश्यक प्रक्रिया पूरा गर्ने दर्शकलाई टिकटबापतको रकम खल्ती वालेटमै फिर्ता गरिने निर्माण पक्षले जनाएको छ।

रकम फिर्ता लिन नागरिकताको प्रतिलिपि, आफ्नो फोटो तथा खल्तीबाट टिकट खरिद गरेको ट्रान्जेक्सनको स्क्रिनसट पठाउनुपर्नेछ। साथै, ‘गौँथली’को पोस्टर वा तस्बिर पृष्ठभूमिमा देखिने गरी खिचिएको फोटो पनि पेस गर्नुपर्ने निर्देशक डा. कपिल रिजालले बताएका छन्।

निर्माण पक्षका अनुसार योग्य दर्शकले खरिद गरेको टिकटको कुल मूल्यबराबरको रकम सम्बन्धित खल्ती वालेटमा जम्मा हुनेछ। अभियानका लागि खल्तीमा एक लाख रुपैयाँ अग्रिम रकम राखिएको छ। उक्त रकम सकिएसम्म वा अभियानको अवधि समाप्त नहुँदासम्म, जुन पहिले हुन्छ, त्यही आधारमा रिफन्ड प्रक्रिया सञ्चालन हुनेछ।

अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको ‘गौँथली’ नेपाली चलचित्र इतिहासमै सर्वाधिक कमाइ गर्ने चलचित्रमध्ये दोस्रो स्थानमा पुगेको छ। चलचित्रले हालसम्म २५ करोड २२ लाख रुपैयाँ ग्रसकलेक्सन गरिसकेको निर्माण पक्षको दाबी छ।

डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरूण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।

शिक्षाको महत्व तथा श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई कथाको केन्द्रमा राखिएको चलचित्रका निर्माता कपिल रिजाल र सुमन गिरी हुन्।


मंगलबार, ९ भाद्र २०८३
सम्बन्धित समाचार
Go