logo

२०८३ भाद्र १० बुधबार

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको लुकेको कथा देखाउँदै

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको लुकेको कथा देखाउँदै

  • Pradip
  • बुधबार, १० भाद्र २०८३
208
SHARES
‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको लुकेको कथा देखाउँदै

माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा लाहुरे जीवनसँग जोडिएका पारिवारिक सम्बन्ध, विगत र भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ ।



दयाहाङ राई मुख्य भूमिकामा रहेको फिल्मको ट्रेलर दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई पहिलो पत्नीको नाम भेटिएपछि सुरु हुने खोजीको कथामा केन्द्रित देखिन्छ ।

वर्षौंदेखि परिवारको चर्चा र स्मृतिबाट टाढा रहेकी जेठी आमाको खोजीमा अघि बढ्ने पात्रमार्फत फिल्मले लाहुरे परम्पराले परिवार र सम्बन्धमा पारेको प्रभावलाई देखाउन खोजेको छ । पेन्सनको अधिकारसँगै जोडिएको यो खोजी क्रमशः पारिवारिक विगत, सम्बन्धको दूरी र पहिचानसँग जोडिँदै जाने संकेत ट्रेलरले गरेको छ ।

लाहुरे जीवनलाई पेन्सन, प्रतिष्ठा र सुख–सुविधाको दृष्टिले मात्रै नभई त्यसपछाडिका भावनात्मक तथा सामाजिक पक्षबाट प्रस्तुत गर्न खोजिएको फिल्मले दर्शकलाई फरक कथा दिने अपेक्षा गरिएको छ ।

‘पेन्सन पट्टा’मा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज कौछा मगर, यासिली योख्खा, डिबी गुरुङ, प्रतिच्छ्या गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङको निर्माण रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन छ । संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन् भने निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुचले सम्पादन गरेका छन् ।

फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् । ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ ।


बुधबार, १० भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go