logo

२०८३ भाद्र २७ शनिबार

भारतका कलाकारहरूको सामाजिक सञ्जालमार्फत नेपालीप्रति ऐक्यबद्धता

भारतका कलाकारहरूको सामाजिक सञ्जालमार्फत नेपालीप्रति ऐक्यबद्धता

  • kollywood_khabar
  • शुक्रबार, १२ भाद्र २०८३
273
SHARES
भारतका कलाकारहरूको सामाजिक सञ्जालमार्फत नेपालीप्रति ऐक्यबद्धता

पछिल्लो समय रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपालमा ठूलो क्षति पुर्‍याएपछि छिमेकी भारतका कलाकारहरूले समेत सामाजिक सञ्जालमार्फत नेपालीप्रति ऐक्यबद्धता जनाइरहेका छन्। उनीहरूले विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार र अवस्था चाँडै सामान्य बन्ने कामना गरेका छन्।

बलिउड अभिनेता सोनू सूदले सामाजिक सञ्जालमार्फत नेपाल विपत्तिको समयमा एक्लो नरहेको सन्देश दिएका थिए। उनले प्रभावितका लागि खाना, आश्रय तथा पुनर्निर्माणमा सहयोग गर्न आफू नेपाल आउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

त्यसपछि अभिनेता सञ्जय दत्तले इन्स्टाग्राम स्टोरीमार्फत नेपाली जनताको साथमा रहेको बताएका छन्। उनले नेपालका लागि आफूले सक्ने जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्।

अभिनेता अनुपम खेरले भिडियो सन्देशमार्फत नेपालका लागि आफू प्रार्थना गरिरहेको बताएका छन्। त्यस्तै, सुनील शेट्टीले पनि बाढीबाट भएको विनाशप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले उद्धार तथा राहत कार्यमा खटिएका सबैप्रति सम्मान व्यक्त गरेका छन्।

अभिनेत्री रश्मिका मन्दानाले नेपालबाट सार्वजनिक भइरहेका दृश्यहरू निकै भयावह र हृदयविदारक भएको बताउँदै प्रभावित क्षेत्रको अवस्था छिट्टै सामान्य बन्ने आशा व्यक्त गरेकी छन्।

यसैगरी, आर. माधवन, शिल्पा शेट्टी, कृति सेनन, अहान शेट्टी, नोरा फतेही, श्रिया सरन र प्रजक्ता कोलीलगायतका कलाकारले पनि बाढीसम्बन्धी तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै नेपाल र नेपालीका लागि प्रार्थना गरिरहेका छन्।

नेपाली फिल्म ‘मायाको माया’मा समेत अभिनय गरेका भारतीय अभिनेता सत्यजीत दुबेले भने नेपालसँग आफ्नो व्यक्तिगत सम्बन्धसमेत स्मरण गरेका छन्। उनले फिल्मको छायांकनका क्रममा नेपालका विभिन्न स्थान घुमेको र नेपाली मानिस, खाना, हिमाल तथा यहाँको आत्मीयता आफ्नो मनमा गहिरो गरी बसेको उल्लेख गरेका छन्।

नेपालमा बाढीले निम्त्याएको क्षति कल्पना गर्नसमेत कठिन भएको बताउँदै दुबेले विपत्तिमा आफ्ना प्रियजन, घर वा जीवनको महत्वपूर्ण हिस्सा गुमाएका सबै नेपालीप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्। साथै, उनले बेपत्ता रहेकाहरूको सकुशल उद्धार होस् र सबै नेपाली सुरक्षित रहून् भन्ने कामना गरेका छन्।


शुक्रबार, १२ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go