हलिउडका चर्चित अभिनेता टम क्रुज नयाँ फिल्ममार्फत दर्शकमाझ फर्किने भएका छन् । क्रुजले सन् १९९० मा रिलिज भएको चर्चित रेसिङ ड्रामा फिल्म **‘डेज अफ थन्डर’**को सिक्वेल निर्माण हुने घोषणा गरेका हुन् ।
सिक्वेलमा टम क्रुजसँगै चर्चित अभिनेत्री एनी ह्याथवे पनि मुख्य भूमिकामा देखिने भएकी छन् । क्रुजले सामाजिक सञ्जालमार्फत ह्याथवे फिल्ममा जोडिएको जानकारी दिएका हुन् । उनले अमेरिकाको डेटोना इन्टरनेसनल स्पिडवेबाट फिल्मसँग सम्बन्धित भिडियोसमेत सार्वजनिक गरेका छन् ।
सार्वजनिक भिडियोमा ‘डेज अफ थन्डर’ लेखिएको हरियो रङको रेसिङ कार देखाइएको छ । त्यहाँ फिल्मको प्रदर्शन वर्ष २०२८ उल्लेख गरिएको छ । भिडियोमा ह्याथवेले बच्चालाई जन्म दिएपछि फिल्ममा काम गर्ने संकेत गरेकी छन् ।
सिक्वेलमा क्रुजले पहिलो फिल्ममा निभाएको रेसिङ ड्राइभर कोल ट्रिकलकै भूमिका पुनः निभाउने अपेक्षा गरिएको छ । ह्याथवे भने रेसिङ टिमकी मालिक तथा इन्जिनियरको भूमिकामा देखिने बताइएको छ ।
फिल्मको निर्देशन जोना लेभिनले गर्नेछन् । निर्माता टोलीमा जेरी ब्रुकहाइमर, टोमी हार्पर र स्वयं टम क्रुज रहनेछन् । चलचित्र सन् २०२८ को गर्मीयाममा दर्शकमाझ ल्याउने तयारी गरिएको छ ।
सन् १९९० मा रिलिज भएको पहिलो ‘डेज अफ थन्डर’मा टम क्रुजले महत्वाकांक्षी र प्रतिभाशाली रेसिङ ड्राइभरको भूमिका निभाएका थिए । फिल्मले त्यतिबेला दर्शकको राम्रो साथ पाएको थियो ।
करिब चार दशकपछि सोही चर्चित कथाको सिक्वेलमा क्रुज फर्किन लागेपछि हलिउडमा फिल्मलाई लिएर चासो बढेको छ । त्यसमा एनी ह्याथवे पनि जोडिएपछि नयाँ पुस्ताका दर्शकमाझ समेत फिल्मप्रति उत्सुकता थपिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd