चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल ‘दिनेश डिसी’ले आफ्नो दुई वर्षे कार्यकाल पूरा गर्दै बोर्डबाट बिदा भएका छन्। शुक्रबार आयोजित एक कार्यक्रमबीच बोर्डका सदस्य सचिव सविन सिंह चौधरी, सदस्य सन्तोषबाबु लोहनी तथा कर्मचारीहरूले मायाको चिनो प्रदान गर्दै उनलाई विदाइ गरे।
दिनेश डिसी बोर्डको १८औँ अध्यक्षका रूपमा २०८१ भदौ १३ गते नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बोर्ड अध्यक्षको जिम्मेवारी दिएको थियो। नियुक्तिका बेला उनी एमालेनिकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षसमेत थिए।
राजनीतिक निकटताका कारण नियुक्ति पाएको चर्चा चले पनि दुई वर्षको अवधिमा उनले बोर्डमा केही महत्वपूर्ण काम अघि बढाएका छन्। साप्ताहिक रूपमा रियल टाइम बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने व्यवस्था, फिल्मकर्मीको क्षमता अभिवृद्धिका कार्यक्रम, बोर्डका गतिविधिको डिजिटलाइजेसन, ‘स्टोरी बैंक’ स्थापना तथा २५ वर्षमा सर्वाधिक कमाइ गर्ने २५ चलचित्रलाई सम्मान गर्ने कार्यलाई उनको कार्यकालका प्रमुख उपलब्धिका रूपमा हेरिएको छ।
दिनेश डिसीको कार्यकाल सकिएसँगै अब नयाँ अध्यक्षको खोजी सुरु भएको छ। बोर्ड अध्यक्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टी निकट फिल्मकर्मीहरूले लबिङ थालेको चर्चा छ। निकट स्रोतका अनुसार दिनेश स्वयं पनि पुनः अध्यक्ष बन्न इच्छुक छन्।
यता फिल्म क्षेत्रमा भने खगेन्द्र लामिछाने र मनोज पण्डितको नाम सम्भावित अध्यक्षका रूपमा चर्चामा आएको छ। यद्यपि, खगेन्द्रले भने यसअघि नै बोर्ड अध्यक्षको जिम्मेवारी नलिने स्पष्ट पारिसकेका छन्।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारको प्राथमिकता अहिले उद्धार, राहत र पुनर्निर्माणतर्फ केन्द्रित छ। त्यसैले तत्कालै चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष नियुक्त हुने सम्भावना न्यून देखिएको छ।
प्रचलित व्यवस्थाअनुसार सञ्चार मन्त्रालयले अध्यक्ष पदका लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनमध्येबाट प्रक्रिया अघि बढाइन्छ र अन्ततः मन्त्रिपरिषद्को निर्णयबाट बोर्ड अध्यक्ष नियुक्त हुन्छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd