logo

२०८३ भाद्र २३ मंगलबार

‘ककाकिकी’ पनि निर्धारित मितिमा प्रदर्शन नहुने

‘ककाकिकी’ पनि निर्धारित मितिमा प्रदर्शन नहुने

130
SHARES
‘ककाकिकी’ पनि निर्धारित मितिमा प्रदर्शन नहुने

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्यसको प्रभाव नेपाली मनोरञ्जन क्षेत्रमा पनि देखिन थालेको छ। बाढीका कारण देश शोकमा रहेका बेला मनोरञ्जनसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा चलचित्रका प्रदर्शन मिति धमाधम स्थगित हुन थालेका छन्।

यसैक्रममा भदौ १९ गते शुक्रबार प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’ पनि निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ। निर्माता कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियो प्रालिकी प्रमुख तथा अभिनेत्री–निर्देशक श्रद्धा प्रसाईंले शुक्रबार विज्ञप्ति जारी गर्दै चलचित्रको प्रदर्शनसँगै प्रचारप्रसारका कार्यक्रमसमेत तत्कालका लागि रोकिएको जानकारी दिएकी हुन्।

देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा हाँस्ने र हँसाउने कार्यक्रम गर्नु उचित नहुने निष्कर्षसहित प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। निर्माण पक्षले चलचित्रको नयाँ प्रदर्शन मिति मंसिर ११ गते अर्थात् नोभेम्बर २७ तय गरेको छ।

‘ककाकिकी’ भदौ १९ बाट पछि सरेपछि उक्त मितिमा प्रदर्शनको तयारीमा रहेका ‘बा : एक योद्धा’ र ‘एलिफेन्ट्स इन द फग’लाई केही सहजता मिलेको छ। यद्यपि, मंसिर ११ गते ‘सारथी’ र ‘स्त्री’ पनि प्रदर्शन हुने तयारीमा रहेकाले ‘ककाकिकी’ले नयाँ प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिन्छ।

‘कमेडी दरबार’का बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा तयार भएको चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, माओत्से गुरुङ, मनोज गजुरेल, दीया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, खड्गबहादुर पुन (खबपु), रेअर राईलगायत कलाकारको अभिनय छ।

श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्र ‘ककाकिकी’ हास्यप्रधान कथावस्तुमा आधारित चलचित्रका रूपमा निर्माण गरिएको हो।


आइतबार, १४ भाद्र २०८३
सम्बन्धित समाचार
Go