logo

२०८३ भाद्र २३ मंगलबार

‘माया भनेकै यस्तो होला’को रिलिज स्थगित, अब तिहारमा प्रदर्शन हुने

‘माया भनेकै यस्तो होला’को रिलिज स्थगित, अब तिहारमा प्रदर्शन हुने

208
SHARES
‘माया भनेकै यस्तो होला’को रिलिज स्थगित, अब तिहारमा प्रदर्शन हुने

रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति सरेको छ । निर्माण पक्षले भदौ २६ गतेका लागि तय गरेको रिलिज स्थगित गर्दै नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

दिया एन्ड अमु फिल्म्स प्रा.लि.ले आइतबार जारी गरेको विज्ञप्तिअनुसार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै चलचित्रको प्रदर्शन तत्कालका लागि रोकिएको हो ।

निर्माता दिल श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा देश शोकमा रहेका बेला मनोरञ्जनात्मक चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्षसहित रिलिज सारिएको उल्लेख छ । निर्माण टोलीले मुलुकको वर्तमान अवस्थाप्रति संवेदनशील हुँदै यस्तो निर्णय लिएको जनाएको छ ।

भदौ २६ को प्रदर्शन स्थगित भएपछि चलचित्र अब तिहारको अवसरमा कात्तिक २० गतेदेखि दर्शकमाझ आउने भएको छ । नयाँ मितिबारे मुख्य वितरकहरूलाई जानकारी गराइसकिएको निर्माण पक्षले जनाएको छ ।

अचानक प्रदर्शन मिति परिवर्तन गर्नुपरेकामा दर्शक तथा सम्बन्धित सरोकारवालामा पर्न गएको असुविधाप्रति निर्माण टोलीले क्षमासमेत मागेको छ ।

रेखा थापाको निर्देशन रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह प्रमुख भूमिकामा छन् । लक्ष्मी गिरी, रवि डंगोल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय छ ।

हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको चलचित्रमा ध्रुव लम्सालको पटकथा छ । सुमधुर प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने उद्देश्य चलचित्रले बोकेको निर्माण पक्षको भनाइ छ ।

सुदीप बरालको छायांकन, अनिरुद्ध आत्रेयको प्रमुख सहायक निर्देशन तथा राजन घिमिरेको फिल्म संयोजन रहेको चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत छ । सुजेनी  मल्लले ड्रेस डिजाइन, प्रिया कार्कीले मेकअप र चुडामणी (सीएम)ले प्रोडक्सन सम्हालेका छन् ।


सोमबार, १५ भाद्र २०८३
सम्बन्धित समाचार
Go