logo

२०८३ भाद्र २६ शुक्रबार

बाढीपीडितको सहयोगमा कन्दराको सांगीतिक अभियान, कन्सर्टबाट २१ लाख राहत कोषमा

बाढीपीडितको सहयोगमा कन्दराको सांगीतिक अभियान, कन्सर्टबाट २१ लाख राहत कोषमा

  • kollywood 1
  • मंगलबार, १६ भाद्र २०८३
221
SHARES
बाढीपीडितको सहयोगमा कन्दराको सांगीतिक अभियान, कन्सर्टबाट २१ लाख राहत कोषमा

देशमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नेपाली सांगीतिक ब्यान्ड कन्दरा पनि राहत अभियानमा जोडिएको छ । कन्दराले अमेरिकामा आयोजना गरेको सांगीतिक कार्यक्रममार्फत संकलित २१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो ।

कन्दराको आह्वान तथा अग्रसरतामा बिएनएमको आयोजनामा अमेरिकाको एटलान्टामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अमेरिकामा रहेका नेपाली दर्शक, विभिन्न संघ–संस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा समुदायको सहभागिता रहेको थियो ।

कार्यक्रमबाट संकलित रकम एटलान्टास्थित गैरनाफामूलक संस्था नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खातामार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको कन्दराले जनाएको छ । उक्त रकम भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कन्दराका गायक तथा संस्थापक विवेक श्रेष्ठले देश दुःखमा रहेका बेला गीत गाउनु सहज नभए पनि संगीतलाई मनोरञ्जनसँगै सेवाको माध्यम बनाउन सकिन्छ भन्ने विश्वासका साथ कार्यक्रम अघि बढाइएको बताए ।

उनले संकटको समयमा संगीतलाई मनोरञ्जनबाट सेवातर्फ मोड्ने निर्णय गरिएको र अमेरिकामा रहेका नेपाली समुदायको एकता, माया तथा सहयोगका कारण यो अभियान सफल भएको बताएका छन् ।
कन्दरा अहिले दुई महिनाभन्दा लामो अमेरिका भ्रमणमा छ । गत अगस्ट ७ देखि सुरु भएको ‘रिदम अफ चेन्ज’ नामक सांगीतिक टुरअन्तर्गत ब्यान्डले विभिन्न सहरमा प्रस्तुति दिइरहेको छ । बोस्टनबाट सुरु भएको टुर एटलान्टापछि भर्जिनिया र कोलोराडोमा समेत आयोजना हुने बताइएको छ ।

ब्यान्डले आगामी प्रस्तुतिहरूमा पनि भोटेकोशी–त्रिशूलीको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउने जनाएको छ । यसरी कन्दराले सांगीतिक कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी विपद्मा परेका नागरिकको सहयोग गर्ने माध्यमका रूपमा समेत अघि बढाएको छ ।


मंगलबार, १६ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go