logo

२०८३ भाद्र २७ शनिबार

विजय र पूजाको ‘रत्यौली’को छायांकन सुरु, फागुन २१ गते प्रदर्शन हुने

विजय र पूजाको ‘रत्यौली’को छायांकन सुरु, फागुन २१ गते प्रदर्शन हुने

  • kollywood 1
  • मंगलबार, १६ भाद्र २०८३
611
SHARES
विजय र पूजाको ‘रत्यौली’को छायांकन सुरु, फागुन २१ गते प्रदर्शन हुने

नेपाली फिल्म ‘रत्यौली’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । मुस्कान ढकालको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको छायांकन मंगलबार बिहान काठमाडौंको पशुपति क्षेत्रमा पूजा गर्दै सुरु गरिएको हो ।

छायांकनको सुरुवात काठमाडौंका विभिन्न स्थानबाट गरिने निर्माणपक्षले जनाएको छ । काठमाडौंमा दुई दिनसम्म फिल्मका दृश्य खिचेपछि निर्माण टोली दोलखाको जिरीतर्फ जानेछ । जिरीमा करिब एक महिनासम्म फिल्मको छायांकन गरिने बताइएको छ ।

‘रत्यौली’ नायिका पूजा शर्माको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म हो । नाइटेङ्गल इन्टरटेनमेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बन्न लागेको फिल्मका निर्माता सुरज आचार्य रहेका छन् ।

फिल्ममा विजय बराल र पूजा शर्मा मुख्य भूमिकामा देखिनेछन् । उनीहरूसँगै लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापालगायत कलाकारको अभिनय रहनेछ ।

नेपाली समाज, पारिवारिक सम्बन्ध तथा संस्कृतिलाई मुख्य विषयवस्तु बनाएर फिल्म तयार गर्न लागिएको निर्माणपक्षले जनाएको छ । फिल्मको कथाले नेपाली समाजमा रहेका सम्बन्ध, संस्कार र सांस्कृतिक पक्षलाई मनोरञ्जनात्मक ढंगबाट प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

फिल्मको छायांकनतर्फ हरि हुमागाईं र उत्तम हुमागाईं डीओपीका रूपमा रहेका छन् । सुनिल निउरे मुख्य सहायक निर्देशक तथा दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजरका रूपमा जोडिएका छन् ।

त्यस्तै, फिल्ममा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ । निर्माणपक्षले फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिसकेको छ । ‘रत्यौली’ आगामी फागुन २१ गतेदेखि दर्शकमाझ आउने तयारीमा छ ।

छायांकन सुरु भएसँगै फिल्मको निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । अब काठमाडौंपछि जिरीको प्राकृतिक तथा ग्रामीण परिवेशमा हुने लामो छायांकनले फिल्मको कथालाई कस्तो दृश्यात्मक रूप दिन्छ भन्ने चासोसमेत बढेको छ ।


मंगलबार, १६ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go