logo

२०८३ भाद्र २३ मंगलबार

बाढीपीडितको सहयोगका लागि सोनू सूद काठमाडौंमा

बाढीपीडितको सहयोगका लागि सोनू सूद काठमाडौंमा

260
SHARES
बाढीपीडितको सहयोगका लागि सोनू सूद काठमाडौंमा

बलिउड अभिनेता तथा समाजसेवी सोनू सूद नेपालका बाढी प्रभावितको सहयोगका लागि काठमाडौं आइपुगेका छन् । आफ्नो ‘सूद च्यारिटी फाउन्डेसन’को टोलीसहित उनी मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सूदले सामाजिक सञ्जालमार्फत नेपाल आएर प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । बाढीपीडितका लागि खाना, आश्रय तथा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने उनको भनाइ थियो ।

काठमाडौं विमानस्थलमा उनलाई सिख धर्मावलम्बीहरूको अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘खाल्सा एड’का प्रतिनिधिले स्वागत गरेका थिए । सूदको नेपाल भ्रमणमा बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका सम्भावित कामलाई प्राथमिकता दिइने बताइएको छ ।

सूद भारतमा अभिनयसँगै सामाजिक सेवाका कारण पनि चर्चित छन् । कोरोना महामारीका बेला भारतमा लकडाउन भएपछि अलपत्र परेका हजारौं मजदूरलाई उनले आफ्नै खर्चमा बस, रेल तथा चार्टर्ड विमानमार्फत घर फर्काउन सहयोग गरेका थिए । त्यसपछि पनि विभिन्न संस्थासँग सहकार्य गर्दै उनले रोजगारीलगायतका अवसर उपलब्ध गराउँदै आएका छन् ।

अभिनयतर्फ भने सोनू सूदले एक सयभन्दा बढी भारतीय चलचित्रमा काम गरिसकेका छन् । विशेषगरी खलनायक अर्थात् नकारात्मक भूमिकामा लोकप्रिय रहेका उनले ‘अरुन्धती’, ‘जोधा अकबर’, ‘दबंग’, ‘सिम्बा’, ‘आर. राजकुमार’ र ‘ह्याप्पी न्यू इयर’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

हिन्दी चलचित्रसँगै उनले तेलुगु, तमिल, कन्नड, मलयालम र चिनियाँ भाषाका चलचित्रमा समेत काम गरिसकेका छन् । यसपटक भने उनी कलाकारका रूपमा नभई विपद्मा परेका नेपालीका लागि सहयोगी बनेर काठमाडौं आइपुगेका हुन् ।


मंगलबार, १६ भाद्र २०८३
सम्बन्धित समाचार
Go