logo

२०८३ भाद्र २३ मंगलबार

हात्तीको कथाभन्दा परको कथा भन्दै ‘तीनीहरू’ भदौ १९ मा प्रदर्शनमा

हात्तीको कथाभन्दा परको कथा भन्दै ‘तीनीहरू’ भदौ १९ मा प्रदर्शनमा

195
SHARES
हात्तीको कथाभन्दा परको कथा भन्दै ‘तीनीहरू’ भदौ १९ मा प्रदर्शनमा

विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा आफ्नो उपस्थिति जनाउँदै अवार्डसमेत जितेको नेपाली चलचित्र ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ अब नेपाली दर्शकमाझ आउने तयारीमा छ । भदौ १९ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई लिएर दर्शकमाझ यसको कथा र विषयवस्तुबारे उत्सुकता बढेको छ ।

चलचित्रको शीर्षकले नै हात्तीको कथातर्फ संकेत गरे पनि ‘तीनीहरू’ केवल हात्तीमा केन्द्रित चलचित्र भने होइन । निर्माण पक्षका अनुसार फिल्ममा हात्तीलाई एउटा पात्रसँगै शक्तिशाली विम्बका रूपमा प्रस्तुत गरिएको छ ।

निर्माता अनुप पौडेलका अनुसार हात्तीमार्फत समाजले सीमान्तकृत समुदाय र उनीहरूमाथि निर्माण गरेका सामाजिक सीमालाई चित्रण गर्न खोजिएको छ । प्रकृति, महिला तथा सीमान्तकृत समुदायमाथि समाजले बनाएका नियन्त्रण र सीमासँग हात्तीको कथालाई जोडिएको उनको भनाइ छ ।

रोचक कुरा त के छ भने चलचित्रको ट्रेलरमा हात्तीलाई देखाइएको छैन । निर्माण पक्षले यो निर्णय जानाजानी गरिएको जनाएको छ । ट्रेलरमै हात्ती देखाएर कथाको महत्वपूर्ण पक्ष खुलाउनुभन्दा दर्शकले चलचित्र हेर्दा त्यसको अर्थ र अनुभव आफैं महसुस गरून् भन्ने उद्देश्य रहेको बताइएको छ ।

ट्रेलरले भने मुख्य पात्र पिरती, उनकी छोरी र उनीहरूको संसारलाई केन्द्रमा राखेको छ । जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवन र उनीहरूले भोगिरहेको सामाजिक यथार्थलाई चलचित्रले कथाको आधार बनाएको छ ।

अविनाश विक्रम शाह निर्देशित चलचित्रको पटकथा पनि शाहकै हो । कथा भने अविनाश विक्रम शाह र सन्दीप बादलको रहेको छ । कान्सलगायत अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट हुँदै कान्समा जुरी च्वाइस अवार्डसमेत प्राप्त गरेपछि चलचित्र घरेलु दर्शकमाझ थप प्रतीक्षित बनेको हो ।

चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ ।

नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको यो चलचित्रले अन्तर्राष्ट्रिय यात्रापछि अब नेपाली दर्शकको प्रतिक्रिया पर्खिरहेको छ ।

यसैबीच निर्माण पक्षले भोटेकोसी बाढीपीडितका लागि सहयोगको घोषणा पनि गरेको छ । नेपाल प्रिमियरमा आमन्त्रित दर्शकबाट उठ्ने अनुमानित ७ लाख रुपैयाँ तथा निर्माताहरूको तर्फबाट थप २ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाइएको छ । चलचित्रका अन्तर्राष्ट्रिय सह–निर्माताहरूले समेत बाढी प्रभावितका लागि सहयोग जुटाउने निर्देशक शाहले बताएका छन् ।

अन्तर्राष्ट्रिय फेस्टिभलमा पाएको सफलता र सामाजिक विषयवस्तुका कारण चर्चामा रहेको ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ले घरेलु दर्शकलाई कस्तो सिनेम्याटिक अनुभव दिन्छ, त्यसको उत्तर भने भदौ १९ पछि नै पाइनेछ ।


मंगलबार, १६ भाद्र २०८३
सम्बन्धित समाचार
Go