logo

२०८३ भाद्र २६ शुक्रबार

भोटेकोशी बाढीपीडितलाई लोकदोहोरी व्यवसायी संघको राहत, सिरक–डसनादेखि चुलोसम्म सहयोग

भोटेकोशी बाढीपीडितलाई लोकदोहोरी व्यवसायी संघको राहत, सिरक–डसनादेखि चुलोसम्म सहयोग

  • kollywood 1
  • बुधबार, १७ भाद्र २०८३
325
SHARES
भोटेकोशी बाढीपीडितलाई लोकदोहोरी व्यवसायी संघको राहत, सिरक–डसनादेखि चुलोसम्म सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राष्ट्रिय लोकदोहोरी व्यवसायी संघले राहत सामग्री वितरण गरेको छ । भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई लक्षित गर्दै संघको टोलीले विदुर नगरपालिका–९ स्थित सुलक्षणा माध्यमिक विद्यालयमा पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो ।

बाढीपछि प्रभावित परिवारलाई राख्न उक्त विद्यालयलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिँदै आएको छ । त्यहाँ रहेका परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर संघले ओढ्ने–ओछ्याउने सामग्रीदेखि खाना पकाउने सामग्रीसम्म उपलब्ध गराएको जनाएको छ ।

संघले प्रभावित परिवारका लागि २५ सेट कम्बल, २५ सेट झुल, २५ वटा सिरानी, २५ सेट डसना, २५ सेट तन्ना, चार वटा ग्यास सिलिन्डर, एक सेट भट्टी चुलो र ५० प्याकेट सेनेटरी प्याड वितरण गरेको छ । यस्तै, दालमोट र फुरुङ्गदाना दुई बोरा पनि उपलब्ध गराइएको छ ।

संघको केन्द्रीय कार्यालय काठमाडौंको मित्रनगरबाट महासचिव नन्दु घर्ती मगरको नेतृत्वमा टोली नुवाकोट पुगेको थियो । राहत वितरण टोलीमा संघका निवर्तमान अध्यक्ष गुणराज खनाल, सचिव सुनिल लामिछाने, कोषाध्यक्ष राम भण्डारी, सदस्य उत्तम भण्डारीलगायत सहभागी थिए ।

राहत सामग्री बुझ्दै बाढीपीडित परिवारले अन्य संघसंस्था तथा निकायबाट खाद्यान्न र राशन सामग्री प्राप्त भए पनि लत्ताकपडा, सिरक, डसना र झुलजस्ता सामग्री भने पहिलोपटक प्राप्त भएको बताएका छन् । आवश्यक सामग्री पाएपछि अस्थायी आश्रयमा बसिरहेका परिवारलाई केही राहत महसुस भएको उनीहरूको भनाइ छ ।

संघका अध्यक्ष दीपसागर थापा मगरले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु संस्थाको सामाजिक दायित्व भएको बताएका छन् । सुखको समयमा मात्रै नभई दुःख र अप्ठ्यारो अवस्थामा पनि प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

संघका निवर्तमान अध्यक्ष गुणराज खनालले प्रभावित क्षेत्रको अवस्था प्रत्यक्ष अवलोकन गर्दा निकै पीडादायी अवस्था देखिएको बताए । तत्काल आवश्यक पर्ने सामग्री लिएर पीडित परिवारसम्म पुग्ने उद्देश्यले टोली नुवाकोट आएको उनको भनाइ छ ।
सचिव सुनिल लामिछानेले बाढी प्रभावित परिवारलाई तत्काल राहत पुग्ने गरी आवश्यक सामग्री उपलब्ध गराउन संघले पहल गरेको बताए । राहत वितरणसँगै प्रभावित परिवारको अवस्था बुझ्ने र आगामी दिनमा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कामसमेत भइरहेको उनले जानकारी दिए ।

यस राहत अभियानमा संघका कोषाध्यक्ष राम भण्डारी स्वयं पनि व्यक्तिगत पीडाबीच सहभागी भएका छन् । उनका बुवा र भाउजु भोटेकोशी बाढीपछि अझै बेपत्ता रहेको अवस्थामा पनि उनी राहत टोलीसँगै प्रभावित क्षेत्रमा पुगेका थिए ।

संघका अनुसार दुई दिनअघि पनि टोली सोही क्षेत्रमा पुगेर स्थलगत अवस्था अवलोकन गर्नुका साथै खोज तथा उद्धारमा सहयोग गरेको थियो । यसपटक भने तत्काल आवश्यक सामग्रीसहित प्रभावित परिवारसम्म पुगेर राहत हस्तान्तरण गरिएको हो ।

भोटेकोशीमा आएको बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । घर तथा सम्पत्ति गुमाएका परिवार अहिले अस्थायी आश्रयस्थल र होल्डिङ सेन्टरमा बस्दै आएका छन् । प्रभावित क्षेत्रमा खाद्यान्नसँगै लत्ताकपडा, ओढ्ने–ओछ्याउने सामग्री र दैनिक उपभोग्य वस्तुको आवश्यकता अझै रहेको बताइएको छ ।

राष्ट्रिय लोकदोहोरी व्यवसायी संघले आगामी दिनमा पनि प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी राहत तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


बुधबार, १७ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go