बलिउड चलचित्र ‘हनुमान अंश’ले प्रदर्शनको सुरुवाती दिनमा निराशाजनक व्यापार गरे पनि अहिले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ ।
अगस्ट ७ बाट प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन जम्मा १० लाख भारतीय रुपैयाँको कारोबार गरेको थियो । ३५५ शोबाट प्रदर्शन सुरु गरेको फिल्मको पहिलो दुई साताको कुल कमाइसमेत ४० लाख रुपैयाँमै सीमित भयो ।
कमजोर व्यापारका कारण चलचित्र असफल हुने अनुमान भइरहेका बेला तेस्रो साताको आइतबारबाट भने यसको व्यापारले अचानक गति लियो । उक्त दिन मात्रै चलचित्रले २ करोड २० लाख भारतीय रुपैयाँको ग्रस कारोबार गरेको थियो ।
त्यसपछि लगातार दर्शकको साथ पाएको ‘हनुमान अंश’ले अहिलेसम्म ५४ करोडभन्दा बढीको ग्रस कलेक्सन गरिसकेको छ । चौथो सातामा मात्रै चलचित्रले ४२ करोड २५ लाख भारतीय रुपैयाँ कमाएको बताइएको छ ।
झन्डै १ करोड ८० लाख भारतीय रुपैयाँको लागतमा निर्माण भएको चलचित्रले हालसम्मको कमाइका आधारमा ठूलो मुनाफा हात पारेको छ । चलचित्रको व्यापार अझै बढ्ने अनुमान गरिएको छ र यसको कुल कमाइ १०० करोड भारतीय रुपैयाँभन्दा माथि पुग्न सक्ने आँकलन गरिएको छ ।
अत्यन्तै कम बजेटमा निर्माण भएर अप्रत्याशित सफलता हासिल गरेपछि ‘हनुमान अंश’ सन् २०२६ मा सबैभन्दा धेरै मुनाफा कमाउने हिन्दी चलचित्रमध्ये एक बनेको छ ।
चलचित्र भारतका चर्चित हिन्दू सन्त नीम करोली बाबाको जीवनबाट प्रेरित रहेको बताइएको छ । ‘डिभाइन डिटोरः द्याट चेन्ज्ड माइ लाइफ’ नामक पुस्तकमा आधारित चलचित्रको लेखन तथा निर्देशन विशाल चतुर्वेदीले गरेका हुन् ।
चलचित्रमा शोभिनव सतैया, चन्दन आनन्द, पूर्णिमा तिवारी, अनिल रस्तोगी र निखिल दुबे लगायतका कलाकारको अभिनय रहेको छ ।
सुरुवाती दुई सातामा दर्शकको कमजोर प्रतिक्रिया र न्यून व्यापारका कारण हलबाट हट्ने अवस्थामा पुगेको चलचित्रले तेस्रो सातादेखि पाएको अप्रत्याशित दर्शक साथले भने यसको पूरा समीकरण नै बदलिदिएको छ ।
चलचित्रले बक्स अफिसमा ब्लकबस्टर सफलता पाएसँगै निर्देशक चतुर्वेदीले यसको सिक्वेल निर्माण गर्ने घोषणा समेत गरिसकेका छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd