अविनाश विक्रम शाह निर्देशित नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ। अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत चर्चा र अवार्ड जितिसकेको यो फिल्मले सीमान्तकृत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको कथा प्रस्तुत गर्छ।
फिल्मको प्रदर्शनअघि बुधबार काठमाडौँको सुन्धारास्थित सिभिल महलमा प्रिमियर गरिएको थियो। प्रिमियरमा सहभागी दर्शकले फिल्म हेरेपछि कलाकार तथा निर्माण टिमलाई करिब पाँच मिनेट लामो स्ट्यान्डिङ अवेशन दिएका थिए।
भोटेकोसी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि च्यारिटीसहित आयोजना गरिएको विशेष प्रदर्शनबाट उठेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको निर्माण टिमले जनाएको छ।
जङ्गली हात्तीको आतङ्कबाट प्रभावित बस्तीमा बसोबास गर्ने सीमान्तकृत समुदायको जीवन र उनीहरूले भोगिरहेको सामाजिक यथार्थलाई फिल्मले कथाको केन्द्रमा राखेको छ। हात्तीको बिम्बमार्फत मानवीय संवेदना, पहिचान र अस्तित्वको विषयलाई प्रस्तुत गरिएको फिल्मले फरक विषयवस्तु बोकेको छ।
फिल्म कान्सलगायत विश्वका विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगिसकेको छ। विभिन्न फेस्टिभलमा प्रदर्शनसँगै फिल्मले अवार्डसमेत जितिसकेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकाङ्क्षा कार्कीलगायत कलाकारको अभिनय रहेको छ।
नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा फिल्म निर्माण गरिएको हो। प्रिमियरमा अभिनेत्री मनिषा कोइराला, ऋचा शर्मा, उषा रजक, नाजिर हुसेन, दिव्य देव तथा निर्देशक नवीन सुब्बा, प्रदीप भट्टराई, दीपेन्द्र लामालगायत चलचित्र क्षेत्रका कलाकार तथा निर्देशकहरूको समेत उपस्थिति थियो।
यसअघि प्रिमियरमा फिल्मले पाएको सकारात्मक प्रतिक्रियापछि निर्माण टिम उत्साहित देखिएको छ। अब शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन सुरु भएसँगै ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ ले नेपाली दर्शकमाझ कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd