यही शुक्रबार अर्थात् भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘बेहुली’ ले रिलिजअघि नै दर्शकमाझ बलियो प्रभाव जमाउन थालेको छ। चलचित्रको आइतबार सार्वजनिक ट्रेलरले छोटो समयमै उल्लेख्य चर्चा बटुल्दै नेपालको युट्युब ट्रेन्डिङमा शीर्ष स्थान हासिल गरेको हो।
ट्रेलर सार्वजनिक भएको १८ घन्टामै ‘बेहुली’ नेपालको युट्युब ट्रेन्डिङ नम्बर एकमा पुगेको थियो। नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली दर्शकमाझ पनि ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ। नेपालीहरूको बाक्लो बसोबास रहेका विभिन्न मुलुकसहित विश्वका ११ देशको युट्युब ट्रेन्डिङमा चलचित्रको ट्रेलर परेको निर्माण पक्षले जनाएको छ।
कुवेतमा दोस्रो स्थानमा पुगेको ट्रेलर कतार र रोमानियामा चौथो, साउदी अरबमा नवौँ, पोर्चुगलमा दशौँ, मलेसियामा ११औँ, दक्षिण कोरियामा १२औँ, जापानमा १३औँ, यूएईमा १४औँ तथा अष्ट्रेलियामा १५औँ स्थानसम्म पुगेको छ।
चलचित्रको प्रचारप्रसारसँगै निर्माण पक्षको सामाजिक उत्तरदायित्व पनि चर्चामा आएको छ। भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि निर्माण टिमले केही समय आफ्ना प्रचार गतिविधि रोकेर विपद्प्रति ऐक्यबद्धता जनाएको थियो।
परिस्थिति केही सामान्य बनेपछि ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा प्रस्तुतकर्ता तथा निर्माता अर्जुन पोखरेलले चलचित्रको आम्दानीबाट बाढी प्रभावितका लागि सहयोग गर्ने घोषणा गरे। उनका अनुसार चलचित्रले बक्स अफिसबाट गर्ने कुल कमाइमध्ये निर्माताको भागमा पर्ने रकमको ५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोसी बाढी प्रभावितलाई प्रदान गरिनेछ।
‘बेहुली’को ट्रेलरमा प्रेम, परिवार र मित्रताका विभिन्न पक्षलाई केन्द्रमा राखिएको छ। विशेषगरी सामाजिक सञ्जालमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको रोमान्टिक केमेस्ट्रीले ध्यान खिचेको छ।
यस्तै, अभिनेता सुशान्त कार्की प्रहरीको भूमिकामा देखिएका छन् भने कमेडियन पदम तामाङको हास्य प्रस्तुतिले ट्रेलरलाई थप मनोरञ्जनात्मक बनाएको छ। सन्तोष बानियाको फरक शैलीको अभिनयले पनि दर्शकमा कौतुहलता बढाएको छ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारको अभिनय छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्मित चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd