यस वर्षको हरितालिका तीज नजिकिए पनि विगतमा जस्तो तीज गीतको चहलपहल देखिएको छैन । भदौ २९ गते तीज परेको भए पनि बाढीपहिरोका कारण कलाकार तथा सर्जकले नयाँ गीत सार्वजनिक गर्न रोक लगाएका छन् ।
भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि मनोरञ्जन क्षेत्रमा समेत त्यसको प्रभाव परेको हो । निर्माण सम्पन्न भएका कतिपय गीतसमेत तत्काल सार्वजनिक नगरी अर्को वर्षका लागि सारिएका छन् । यद्यपि, पछिल्लो समय परिस्थिति केही सहज बनेपछि विष्णु माझीको ‘घरबार’, ‘झिंगे दाउ २’को ‘जेठानी भर्सेस देउरानी’ तथा प्रकाश सपुत र निशा सुनारको ‘लाली लपक्कै सारी सपक्कै’ लगायत गीत सार्वजनिक भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अनुसार तीज गीतका लागि छुट्टै दर्ता आवश्यक नपर्ने भएकाले यकिन संख्या छैन । तर, सामान्य अवस्थामा वर्षमा करिब तीन सय तीज गीत बजारमा आउने गरेका छन् । यसपटक भने बाढीका कारण त्यो संख्या उल्लेख्य घटेको कलाकार तथा सर्जकहरू बताउँछन् ।
विपद्को अवस्थालाई ध्यान दिँदै केही कलाकारले विदेशमा तय भएका सांगीतिक कार्यक्रमसमेत स्थगित गरेका छन् । रचना रिमाल र खुमन अधिकारीले कार्यक्रम रद्द वा स्थगित गर्दा एलिना चौहानले भने तीज कार्यक्रमलाई च्यारिटी सोमा परिणत गरी बाढीपीडितलाई सहयोग गरेकी छन् । समीक्षा अधिकारी, खेम सेञ्चुरी र शान्तिश्री परियारलगायत कलाकार भने पूर्वनिर्धारित कार्यक्रममा सहभागी भइरहेका छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd