नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’ निर्माणको औपचारिक घोषणा गरिएको छ। निर्माण टिमले चलचित्रका दुई फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै यसको जानकारी दिएको हो। पोस्टरमा देखाइएको कलाकारहरूको लुक्स र पृष्ठभूमिले चलचित्र एक्सन तथा थ्रिलर जनरामा निर्माण हुन लागेको संकेत गरेको छ।
फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्रको निर्देशन बिजु पार्कीले गर्नेछन्। यो उनको निर्देशनमा डेब्यू चलचित्र हुनेछ।
सार्वजनिक पहिलो पोस्टरमा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान र पेमा दावा लामालाई एकसाथ प्रस्तुत गरिएको छ। जङ्गल र पहाडी भूगोललाई पृष्ठभूमिमा राखिएको पोस्टरमा कलाकारहरू चोटपटक र रगतले लत्पत्तिएको अवस्थामा देखिन्छन्। उनीहरूको गम्भीर हाउभाउले चलचित्रमा द्वन्द्व र संघर्षलाई प्राथमिकता दिइएको अनुमान गर्न सकिन्छ।
पोस्टरमा कविता नेपाली र निश्चल प्रधान भने अन्य कलाकारभन्दा केही फरक शैलीमा प्रस्तुत छन्। उनीहरूको रहस्यमयी मुस्कानले कथामा यी दुई पात्रको भूमिका विशेष हुनसक्ने संकेत गरेको छ।
दोस्रो फर्स्टलुकले चलचित्रप्रति थप कौतूहल जगाएको छ। रातो पृष्ठभूमिमा ‘२०२७’ उल्लेख गरिएको पोस्टरमा कविता नेपाली र निश्चल प्रधानलाई केन्द्रमा राखिएको छ भने अन्य चार कलाकारलाई तलतर्फ देखाइएको छ। उनीहरूको अनुहारमा चोट र रगत देखाइएको छ। ‘२०२७’ ले चलचित्रको प्रदर्शन वर्ष वा कथाको समयावधि जनाउन खोजिएको हो भन्ने विषयमा भने निर्माण पक्षले स्पष्ट जानकारी दिएको छैन।
चलचित्रमा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र बिमल पुरीको मुख्य अभिनय रहनेछ।
चलचित्रका सह–निर्मातामा सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा छन्। रमेश शाही ठकुरी र शिशिर पार्की कार्यकारी निर्माता हुन्। गजित विष्ट र सरिता गिरी प्रोजेक्ट एडभाइजर तथा सरोज श्रेष्ठ प्रोडक्सन म्यानेजरको जिम्मेवारीमा छन्।
अनिश बुढाथोकी चिफ असिस्टेन्ट डिरेक्टर तथा मार्लोभ ढुंगाना, अनिता स्याङ्बो र विशाल बुढा असिस्टेन्ट डिरेक्टरका रूपमा छन्। एक्सन निर्देशन राजु डोङले गर्नेछन् भने भीएफएक्सको जिम्मेवारी सज्जल लोप्चन र मेकअप तथा कस्ट्युम डिजाइन ज्योति केसीको रहनेछ।
रामप्रसाद चौधरीको सम्पादन र संगम राईको डीओपी रहने चलचित्रको वितरण श्रीराम बालाजी फिम्सले गर्नेछ। टौवा स्टुडियो पब्लिसिटी पार्टनरका रूपमा जोडिएको छ।
निर्माण पक्षका अनुसार चलचित्रको छायांकन चाँडै सुरु गरिनेछ। सार्वजनिक फर्स्टलुकले नै एक्सन, रहस्य र द्वन्द्वको संकेत गरेपछि ‘अन्तिम दाउ’प्रति दर्शकको चासो बढ्ने देखिएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd