logo

२०८३ भाद्र २६ शुक्रबार

दरको नाममा मौलिकता हराउँदै, परम्परा बन्दैछ देखावटी उत्सव

दरको नाममा मौलिकता हराउँदै, परम्परा बन्दैछ देखावटी उत्सव

  • kollywood 1
  • बिहिबार, २५ भाद्र २०८३
156
SHARES
दरको नाममा मौलिकता हराउँदै, परम्परा बन्दैछ देखावटी उत्सव

हरितालिका तीजसँग जोडिएको दर खाने परम्परा नेपाली समाजमा लामो समयदेखि चलिआएको सांस्कृतिक परम्परा हो । परिवार, आफन्त, इष्टमित्र तथा छिमेकी एकै ठाउँमा भेला भएर मीठा परिकार खाने, सुखदुःख साटासाट गर्ने र आत्मीयता बढाउने उद्देश्यले मनाइने दर पछिल्लो समय भने आफ्नो मौलिक स्वरूपबाट विस्तारै टाढिँदै गएको देखिन्छ ।

परम्परागत रूपमा तीजको अघिल्लो दिन परिवारमा विशेष परिकार बनाएर दर खाने चलन थियो । तीजका दिन निराहार व्रत बस्ने भएकाले अघिल्लो दिन पौष्टिक तथा आडिलो खाना खाने परम्परा विकसित भएको मानिन्छ । तर अहिले तीज आउनुभन्दा हप्तौं अघिदेखि नै दर खाने कार्यक्रम आयोजना हुन थालेका छन् । यस्ता कार्यक्रममा परम्परागत खानाका परिकारभन्दा देखावटी, भोजभतेर र मनोरञ्जनलाई बढी प्राथमिकता दिन थालिएको पाइन्छ ।

विशेषगरी शहरी क्षेत्रमा आयोजना हुने दर कार्यक्रमहरूमा परम्परागत संस्कार र पारिवारिक आत्मीयताभन्दा खर्चिलो खानपिन, भड्किलो कार्यक्रम र आधुनिक शैली हाबी हुँदै गएको देखिन्छ । कतिपय कार्यक्रममा मादक पदार्थको प्रयोगसमेत हुने गरेको भन्दै जानकारहरूले यसलाई दरको मौलिक परम्परासँग मेल नखाने प्रवृत्तिका रूपमा व्याख्या गरेका छन् ।

दर खाने दिनको मूल उद्देश्य परिवार र आफन्तबीच सम्बन्ध मजबुत बनाउनु, महिलाहरूले आफ्ना सुखदुःख साझा गर्नु तथा तीजको धार्मिक र सांस्कृतिक तयारी गर्नु हो । तर समयसँगै यसको स्वरूप परिवर्तन हुँदै जाँदा परम्पराको वास्तविक अर्थभन्दा कार्यक्रमको तडकभडक र प्रदर्शनले प्राथमिकता पाउन थालेको चिन्ता बढेको छ ।

जानकारहरू समयअनुसार संस्कृति परिवर्तन हुनु स्वाभाविक भए पनि परिवर्तनका नाममा मौलिकता नै गुमाउन नहुने बताउँछन् । दरलाई केवल भोज र मनोरञ्जनको अवसरका रूपमा नभई नेपाली समाजको पारिवारिक सम्बन्ध, सामाजिक एकता र सांस्कृतिक पहिचानसँग जोडिएको परम्पराका रूपमा बुझ्नुपर्ने उनीहरूको भनाइ छ ।

नयाँ पुस्तालाई तीज र दरको वास्तविक सांस्कृतिक महत्व बुझाउन सके मात्रै यसको मौलिक पक्ष जोगाउन सकिने देखिन्छ । आधुनिकता स्वीकार गर्दै परम्परालाई समयअनुकूल बनाउन सकिए पनि त्यसका नाममा विकृति र विसङ्गति भित्रिन नदिन परिवार, समाज र सम्बन्धित सबै पक्ष सचेत हुन आवश्यक देखिन्छ ।


बिहिबार, २५ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go