logo

२०८३ भाद्र २६ शुक्रबार

‘एलिफेन्ट्स इन द फग’लाई अन्तर्राष्ट्रिय सफलता, एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयन

‘एलिफेन्ट्स इन द फग’लाई अन्तर्राष्ट्रिय सफलता, एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयन

130
SHARES
‘एलिफेन्ट्स इन द फग’लाई अन्तर्राष्ट्रिय सफलता, एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयन

नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्ड्सका तीन प्रमुख विधामा मनोनयनमा परेको हो।

एसिया प्यासिफिक स्क्रिन एकेडेमीले सार्वजनिक गरेको मनोनयन सूचीमा नेपालसहित ३२ देश तथा क्षेत्रका ३६ चलचित्र समावेश छन्। ‘एलिफेन्ट्स इन द फग’ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा प्रतिस्पर्धाका लागि छनोट भएको छ।

अवार्डको यस वर्षको मनोनयनमा नयाँ पुस्ताका फिल्ममेकरको बलियो उपस्थिति देखिएको छ। मनोनीत चलचित्रका करिब ६९ प्रतिशत निर्देशकले आफ्नो पहिलो वा दोस्रो फिचर फिल्म प्रस्तुत गरेका छन्। उत्कृष्ट फिल्म विधामा मनोनयनमा परेका पाँचै चलचित्र पहिलोपटक फिचर निर्देशन गरेका निर्देशकका रहेको जनाइएको छ।

यसपटकको मनोनयनमा अन्तर्राष्ट्रिय सहकार्यले पनि विशेष स्थान पाएको छ। ‘एलिफेन्ट्स इन द फग’ नेपालसँगै जर्मनी, ब्राजिल, फ्रान्स र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको चलचित्र हो।

अवार्ड समारोह आगामी अक्टोबर ३० मा अस्ट्रेलियामा आयोजना हुँदैछ। अन्तर्राष्ट्रिय स्तरको यो प्रतिष्ठित अवार्डमा चलचित्रले तीन विधामा प्रतिस्पर्धा गर्ने भएपछि नेपाली फिल्म क्षेत्रका लागि पनि यो उपलब्धिलाई अर्थपूर्ण मानिएको छ।

घरेलु प्रदर्शनतर्फ भने ‘एलिफेन्ट्स इन द फग’ गत शुक्रबारदेखि नेपालका हलमा प्रदर्शन भइरहेको छ। चलचित्रले समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाउनुका साथै दर्शकमाझ पनि राम्रो वर्ड अफ माउथ बनाइरहेका बेला अन्तर्राष्ट्रिय अवार्डबाट आएको यो खबरले निर्माण टिमको उत्साह थपिएको छ।

जंगली हात्तीको आतंकले प्रभावित एउटा बस्ती र त्यहाँ बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवनकथालाई केन्द्रमा राखिएको चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।

चलचित्रको पटकथा निर्देशक अविनाश विक्रम शाहले नै लेखेका हुन् भने कथा अविनाश विक्रम शाह र सन्दीप बादलको रहेको छ। नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र तयार भएको हो।

चलचित्रका निर्माता नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स रहेका छन्। सह–निर्माताको रूपमा प्रचण्डमान श्रेष्ठसँगै ब्राजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल जोडिएका छन्।

चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको चलचित्रमा अभिनेत्री केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एशोसिएट निर्माता छन्।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सह–निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एशोसिएट निर्माताका रूपमा रहेका छन्।

अब ‘एलिफेन्ट्स इन द फग’ले घरेलु दर्शकको साथसँगै एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा तीन विधामध्ये कति सफलता हात पार्छ भन्ने प्रतीक्षा सुरु भएको छ।


बिहिबार, २५ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go