logo

२०८३ भाद्र २७ शनिबार

शिरजरा : द सङ्ग अफ ग्रान्डमदर’ फाइनान्सिङ मार्केटका लागि छनोट

शिरजरा : द सङ्ग अफ ग्रान्डमदर’ फाइनान्सिङ मार्केटका लागि छनोट

  • kollywood_khabar
  • शुक्रबार, २६ भाद्र २०८३
39
SHARES
शिरजरा : द सङ्ग अफ ग्रान्डमदर’  फाइनान्सिङ मार्केटका लागि छनोट

नेपाली चलचित्रका लागि अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ। निर्देशक विकास सुवेदीको नयाँ चलचित्र ‘शिरजरा : द सङ्ग अफ ग्रान्डमदर’ जापानमा आयोजना हुने प्रतिष्ठित टोकियो चलचित्र ग्याप फाइनान्सिङ मार्केटका लागि छनोट भएको छ।

टोकियो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत आयोजना हुने उक्त लगानी तथा निर्माण बजारमा विश्वभरबाट प्राप्त सयौँ परियोजनामध्ये उत्कृष्ट २४ परियोजना छनोट गरिएको हो। यस वर्षको छनोटमा नेपाल तथा भारतसहित सम्पूर्ण दक्षिण एसियाबाटै ‘शिरजरा’ एक्लो प्रतिनिधि चलचित्र बनेको निर्माण पक्षले जनाएको छ।

विश्वका प्रतिष्ठित कान्स, बर्लिन र भेनिसजस्ता चलचित्र महोत्सवमा आफ्नो प्रभाव छाडिसकेका फिल्ममेकरका परियोजनासँगै ‘शिरजरा’ एउटै सूचीमा पर्नु नेपाली चलचित्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

यसपटकको सूचीमा कान्समा पुरस्कार जितिसकेका सिंगापुरका निर्देशक जुनफेङ बु, कान्स तथा भेनिसमा स्थापित कजाकिस्तानका निर्देशक आदिलखान येर्जानाभ, कान्स विजेता फिल्म ‘टाइगर स्ट्राइप्स’ निर्माण गर्ने इन्डोनेसियाली कम्पनी कावानकावान मिडिया, भेनिस विजेता भियतनामी निर्देशक डिएप नुएन होआङ तथा बर्लिनमा फिल्म प्रस्तुत गरिसकेका ब्राजिलियन निर्देशक माथियास मारियानीका परियोजना पनि समावेश छन्।

यस्ता विश्वचर्चित फिल्ममेकर तथा निर्माण कम्पनीको परियोजनाबीच नेपाली निर्देशक सुवेदीको फिल्म छनोट हुनु अन्तर्राष्ट्रिय सिनेमामा नेपाली चलचित्रको उपस्थिति विस्तार हुँदै गएको संकेतका रूपमा हेरिएको छ।

किङ्डम नेटवर्कको निर्माणमा बन्न लागेको ‘शिरजरा’ उच्च अवधारणामा आधारित चलचित्र हो। फिल्मको कथा आधुनिक एआई प्रविधि र हिमाली जीवनदर्शनबीचको सम्बन्धमा केन्द्रित छ।

कथामा मानवीय संवेदना तथा भावनालाई बुझ्न सक्ने डिजिटल प्रविधिको विकासमा लागेकी एक एआई विशेषज्ञ आफ्नी हजुरआमासँग पुर्ख्यौली थलो नेपाल पुग्छिन्। करिब पाँच हजार मिटरको उचाइसम्मको यात्रामा पुग्दा आधुनिक प्रविधिप्रतिको उनको विश्वास र अहंकार प्रकृतिको विराटतासामु कमजोर हुँदै जान्छ।

मानिसले खोजिरहेको मानवीय संवेदनाको वास्तविक स्रोत बाहिरी संसारमा संकलन गरिने तथ्यांकमा नभई आफ्नै पुर्खा, रगत र चेतनाभित्र पहिल्यै सुरक्षित रहेको बोधसम्म पुग्ने उनको यात्रालाई फिल्मले दार्शनिक तथा आध्यात्मिक ढंगले प्रस्तुत गर्नेछ।

यसअघि सन् २०२० मा निर्देशक मीनबहादुर भामको ‘शाम्बाला’ पनि यही टोकियो बजारमा छनोट हुँदै उत्कृष्ट परियोजनाको पुरस्कार जित्न सफल भएको थियो। पछि ‘शाम्बाला’ सन् २०२४ मा प्रतिष्ठित बर्लिन चलचित्र महोत्सवको मुख्य प्रतिस्पर्धामा समेत छनोट भएको थियो।

‘शिरजरा’को टोकियो छनोटसँगै निर्माण टोलीले अन्तर्राष्ट्रिय वितरक तथा युरोपेली सह–निर्मातासँग प्रत्यक्ष भेटघाट गर्ने अवसरसमेत पाउनेछ। चलचित्रको निर्माण, सह–निर्माण तथा विश्वव्यापी प्रदर्शनका सम्भावनाबारे टोकियोमा छलफल हुने बताइएको छ।

आधुनिक एआई प्रविधि र हिमाली परम्परागत चेतनालाई एउटै कथानकमा जोडेको ‘शिरजरा’को यो अन्तर्राष्ट्रिय यात्राले नेपाली चलचित्रलाई विश्व सिनेमाको नक्सामा थप बलियो रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


शुक्रबार, २६ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go