logo

२०८३ भाद्र २६ शुक्रबार

बा : एक योद्धा’को नयाँ प्रदर्शन मिति घोषणा, असोज ९ गतेदेखि हलमा आउने

बा : एक योद्धा’को नयाँ प्रदर्शन मिति घोषणा, असोज ९ गतेदेखि हलमा आउने

  • kollywood_khabar
  • शुक्रबार, २६ भाद्र २०८३
13
SHARES
बा : एक योद्धा’को नयाँ प्रदर्शन मिति घोषणा, असोज ९ गतेदेखि हलमा आउने

नेपाली चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन मिति पुनः तय गरिएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण पूर्वनिर्धारित मितिमा रिलिज हुन नसकेको चलचित्र अब असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंसीको अवसर पारेर निर्माण पक्षले चलचित्रको नयाँ रिलिज मिति सार्वजनिक गरेको हो। यसअघि बाढी प्रभावितका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै चलचित्रलाई मंसिर २४ गते प्रदर्शन गर्ने घोषणा गरिएको थियो। तर, वितरक तथा प्रदर्शकसँगको छलफलपछि निर्माण टिमले प्रदर्शन मिति परिवर्तन गरेको हो।

निर्माता वसन्त लम्सालका अनुसार सबै पक्षसँगको परामर्शपछि असोज ९ गते चलचित्र प्रदर्शन गर्ने निर्णय गरिएको हो। उनले नयाँ मितिमा दर्शक तथा चलचित्र क्षेत्रका सबै पक्षबाट सकारात्मक साथ पाउने विश्वास व्यक्त गरेका छन्।

‘बा : एक योद्धा’को कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीमा केन्द्रित छ। परिवारका लागि बुवाले गर्ने समर्पणलाई कथाको मूल विषय बनाइएको चलचित्रको लेखन तथा निर्देशन हरि लम्सालले गरेका हुन्।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।

संगीत क्षेत्रमा दर्जनौँ लोकप्रिय तथा कालजयी गीत दिएका हरि लम्साल संगीतकारसँगै रचनाकार र गायक पनि हुन्। ‘बा : एक योद्धा’ उनको फिचर फिल्म निर्देशनतर्फको डेब्यु चलचित्र हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा पनि लम्सालले नै तयार पारेका हुन्।

वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन्।

शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। ‘बा : एक योद्धा’को वितरण आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

बुबाको त्याग, संघर्ष र पारिवारिक जिम्मेवारीलाई पर्दामा उतारिएको चलचित्र असोज ९ गतेदेखि दर्शकमाझ आउने भएपछि यसले बुबा–सन्तानको सम्बन्धलाई केन्द्रमा राखेर कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।


शुक्रबार, २६ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go