निर्देशक सौरभ चौधरीको आगामी चलचित्र ‘द राइज अफ साम्राज्य’को कलाकार टोली थप बलियो बन्दै गएको छ । सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइलीपछि चलचित्रमा अभिनेता अमरप्रताप श्रेष्ठ पनि जोडिएका छन् ।
निर्देशक चौधरीले अमरलाई चलचित्रको महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेका हुन् । रोचक पक्ष के छ भने, अमरले यही चलचित्रका लागि लक्षित गरेर विगत साढे दुई वर्षदेखि विभिन्न विधाको प्रशिक्षण लिँदै आएका थिए ।
निर्देशक चौधरीका अनुसार अमरले आफ्नो निर्देशन तथा सल्लाहमा अभिनयसँगै एक्सन, मार्सल आर्ट र नृत्यको प्रशिक्षण गरेका हुन् । लामो समयसम्म एउटै चलचित्रका लागि निरन्तर तयारी गर्नु अमरको लगाव र समर्पणको प्रमाण भएको उनको भनाइ छ ।
सौरभका अनुसार अमरको लामो तयारी र मेहनतकै कारण उनलाई चलचित्रको मुख्य भूमिकामध्ये एकमा अवसर दिइएको हो ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘द राइज अफ साम्राज्य’लाई ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गर्ने तयारी छ । चलचित्रको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन् ।
यसपटक निर्देशक चौधरी नेपाली चलचित्रमा अहिलेसम्मकै ठूलो क्यानभासमा एक्सन फिल्म प्रस्तुत गर्ने तयारीमा छन् । निर्माण पक्षले चलचित्रलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन प्रोजेक्टका रूपमा दाबी गरेको छ ।
चलचित्र केही समयपछि फ्लोरमा जाने तयारीमा छ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तय गरेको छ, जसको ठूलो हिस्सा पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछ ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् । मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा रहनेछन् ।
चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो र वितरक डिसीएन रहेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd