logo

२०८३ भाद्र ३० मंगलबार

निखिल–सजिनाको रोमान्टिक अवतारमा ‘आचार्य’को ‘लै बरी लै’

निखिल–सजिनाको रोमान्टिक अवतारमा ‘आचार्य’को ‘लै बरी लै’

13
SHARES
निखिल–सजिनाको रोमान्टिक अवतारमा ‘आचार्य’को ‘लै बरी लै’

अभिनेता निखिल उप्रेती निर्देशकीय भूमिकामा फर्किएको चलचित्र ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको गीतमा युग भुसालको शब्द तथा संगीत छ । गीतमा भारतीय गायक गौरांग शेखर शर्मा र ज्योत्सना जावडाको स्वर रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा निखिल उप्रेती र सजिना श्रेष्ठलाई प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ । सौरभ लामाले खिचेको गीतलाई किरण थापाले कोरियोग्राफी गरेका हुन् । भिडियोमा दुवै कलाकारको नृत्यलाई प्राथमिकता दिइएको छ भने निर्माण पक्षले दृश्यलाई आकर्षक बनाउने प्रयास गरेको देखिन्छ ।

यद्यपि, निखिल र सजिनाबीचको रोमान्टिक केमेस्ट्री भने त्यति स्वाभाविक देखिँदैन । विशेषगरी दुई कलाकारबीचको उमेर अन्तरले पर्दामा उनीहरूको जोडीलाई केही असहज बनाएको महसुस हुन्छ । तर, छायांकन, लोकेसन र कोरियोग्राफीका हिसाबले गीतको मेकिङ भने स्तरीय देखिन्छ ।

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा निखिल र सजिनासँगै प्रमोद अग्रहरी, सञ्जय गुप्ता, रोहित चौधरी, ध्रुव कोइराला र सरिता ज्ञवालीको अभिनय छ । भारतीय कलाकार दीपराज राणा, रघु बाबु र रघू कारुमन्चीलगायत पनि चलचित्रमा देखिनेछन् । चलचित्रमार्फत पूर्णिका सिंजापतिले अभिनेत्रीका रूपमा डेब्यू गर्दैछिन् ।

निखिल उप्रेती स्वयंको लेखन रहेको चलचित्रका निर्माता कृष्ण भट्टराई र कार्यकारी निर्माता मिथिलेश तिवारी हुन् । चलचित्रमा मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा शुक्रराज शाहको द्वन्द्व निर्देशन छ ।

युग भुसालले संगीत दिएको चलचित्रमा दक्षिण भारत (तमिल)का कालाचरणको पार्श्व संगीत छ । नृत्य निर्देशन गम्भीर विष्ट र किरण थापाले गरेका छन् ।


मंगलबार, ३० भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go