logo

२०८३ साउन १० आइतबार

प्रदर्शनको दोस्रो सातामा ‘गौँथली’को रफ्तार कायम, शो संख्या २५० नाघ्यो

प्रदर्शनको दोस्रो सातामा ‘गौँथली’को रफ्तार कायम, शो संख्या २५० नाघ्यो

286
SHARES
प्रदर्शनको दोस्रो सातामा ‘गौँथली’को रफ्तार कायम, शो संख्या २५० नाघ्यो

दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुल्दै नेपाली चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातादेखि नै राम्रो ‘वर्ड अफ माउथ’ पाएको चलचित्रले अहिले देशभरका हलमा आफ्नो उपस्थिति थप बलियो बनाइरहेको छ ।



रिलिजको सुरुवातमा करिब २०० शो पाएको चलचित्रले अहिले २५० भन्दा बढी शो प्राप्त गरिसकेको छ । अधिकांश हलमा दर्शकको उपस्थितिले उत्साहजनक व्यापार भइरहेको जनाइएको भए पनि निर्माण टिमले आधिकारिक बक्स अफिस विवरण भने सार्वजनिक गरेको छैन ।

निर्देशक डा. कपिल रिजालका अनुसार चलचित्र विकास बोर्डले प्रत्येक सोमबार आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक गर्ने भएकाले निर्माण पक्षले त्यसअघि कुनै आँकडा सार्वजनिक नगरेको हो । उनका अनुसार यसपटक चलचित्रको व्यापार अपेक्षाभन्दा पनि राम्रो रहेको संकेत देखिएको छ ।

पहिलो दिन सामान्य देखिएको दर्शक सहभागिता त्यसपछि क्रमशः बढ्दै गएको छ । धेरै हलमा शो हाउसफुलसम्म पुगेका छन् भने कलाकारसहितको टोली काठमाडौं र मोफसलका विभिन्न हल पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया संकलन गरिरहेको छ ।

दर्शकले चलचित्रलाई मौलिक नेपाली कथा र पारिवारिक भावनाले भरिएको फिल्मका रूपमा प्रशंसा गरिरहेका छन् । एउटै परिवारका १०–१५ जनासम्म समूहमा चलचित्र हेर्न आउने क्रम बढेको निर्माण पक्षको दाबी छ । विशेषगरी महिला दर्शकको आकर्षण उल्लेखनीय देखिएको छ ।

‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको यस चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन् ।


शुक्रबार, ८ साउन २०८३
सम्बन्धित समाचार
Go