चलचित्र ‘बा : एक योद्धा’ को बहुप्रतीक्षित टिजर सार्वजनिक गरिएको छ। भावनाले भरिएको टिजरले एक सुखी परिवारमाथि आइपरेको अकल्पनीय दुर्घटनाको झलक प्रस्तुत गर्दै दर्शकमाझ उत्सुकता बढाएको छ।
टिजरको सुरुवात ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने संवादबाट हुन्छ। त्यसपछि रगतले लत्पतिएका मुख्य पात्र दिव्यदेव पन्त देखिन्छन्, जसले कुनै भयावह घटनाबाट ज्यान जोगाएर फर्किएको संकेत गर्छन्। उनको पीडाभन्दा पनि परिवारमा घटेको रहस्यमय घटनाले दर्शकलाई सोच्न बाध्य बनाउँछ।
घरको आँगनमा पुगेपछि दिव्यदेवको मनमा बितेका खुसीका पलहरू झल्किन्छन्। रमाइलो परिवारको तस्वीरसँगै अचानक आएको विपत्तिका दृश्यहरू क्रमशः देखाइन्छन्। बाबुलाई खोज्दै दौडिरहेकी छोरी, रोइरहेका परिवारका सदस्य र गाउँभर फैलिएको त्रासले कथामा ठूलो दुर्घटना लुकेको आभास दिन्छ।
टिजरमा सुनिने अर्को संवाद ‘आज बाउको मुख हेर्ने दिन, तर एउटा बाले आफ्नो छोराको मुख हेर्न पाएन’ ले कथालाई अझ मार्मिक बनाएको छ। त्यससँगै गाडीमा यात्रा गरिरहेका दिव्यदेव र आँसुमा डुबेका झरना थापा तथा सुहाना थापा का दृश्यहरूले पारिवारिक पीडाको गहिराइ झल्काउँछन्।
टिजरले एउटा परिवार कसरी एकाएक बिखण्डित हुन्छ भन्ने भावनात्मक कथा प्रस्तुत गरे पनि, त्यसको वास्तविक कारण भने रहस्यमै राखेको छ। यही रहस्यले चलचित्रप्रति दर्शकको चासो थप बढाएको देखिन्छ।
भदौ १९ गते प्रदर्शनमा आउने ‘बा : एक योद्धा’ ले आफ्ना सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र बलिदानलाई मुख्य विषय बनाएको निर्माण पक्षले जनाएको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो चलचित्र उनको पहिलो फिचर निर्देशन हो। संगीतकार, गायक तथा रचनाकारका रूपमा परिचित लम्सालले यस चलचित्रको कथा र पटकथा पनि आफैँ तयार गरेका छन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा देखिनेछन्। चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने छायांकन शिवराम श्रेष्ठ ले गरेका छन्। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा रिलिज हुन लागेको यो चलचित्रलाई कुवेर सिने डिस्ट्रिब्युसन ले देशभर प्रदर्शनमा ल्याउनेछ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd