अभिनेता नाजिर हुसेनले भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई अनावश्यक रूपमा सुरक्षा जाँचका लागि अलग्गै लगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
चलचित्र ‘गुन्यो चोलो’ को विशेष प्रदर्शनीमा सहभागी भएर नेपाल फर्किने क्रममा आफूलाई मात्रै सुरक्षाकर्मीले रोकेर विशेष कक्षमा लगेको उनले सामाजिक सञ्जालमार्फत खुलासा गरेका हुन्। उनका अनुसार निर्देशक समुन्द्र भट्ट र जनकदीप पराजुलीसहित अन्य टोलीका सदस्यलाई कुनै रोकतोक नगरिए पनि आफूमाथि मात्र विस्तृत सोधपुछ गरिएको थियो।
नाजिरले सुरक्षाकर्मीले ‘किन नेपाल जाँदै हुनुहुन्छ?’ र ‘तपाईंसँग कति पैसा छ?’ जस्ता प्रश्न गरेको उल्लेख गरेका छन्। आफू घर फर्किरहेको र साथमा भारतीय रुपैयाँ नभएको जवाफ दिएपछि पनि किन छुट्टै जाँचमा राखियो भन्ने प्रश्नको स्पष्ट उत्तर नपाएको उनको भनाइ छ।
उनका अनुसार आफ्नो पूरा नाम ‘मोहमद नाजिर हुसेन’ भएकै कारण यस्तो व्यवहार दोहोरिएको हुन सक्छ। सबै विवरण प्रणालीमा उपलब्ध हुँदाहुँदै पनि पटक–पटक एउटै अवस्थाको सामना गर्नुपर्नु विभेदपूर्ण व्यवहार भएको उनले बताएका छन्।
‘पहिलो पटक यस्तो हुँदा सामान्य लाग्यो, तर दोस्रो पटक पनि उस्तै व्यवहार हुनु स्वीकार्य होइन,’ भन्दै उनले आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्।
नेपाल एयरलाइन्सको जहाजमा चढेपछि टेलिभिजनमा लुम्बिनीको दृश्य देख्दा मात्रै आफूले सुरक्षित महसुस गरेको उल्लेख गर्दै उनले यस घटनाको वास्तविक कारण सार्वजनिक गर्न आग्रह गरेका छन्। उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, भारतस्थित नेपाली दूतावास र नेपाल चलचित्र विकास बोर्डलाई समेत सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका छन्।
भारतका केही विमानस्थलमा मुस्लिम नाम भएका यात्रुमाथि अतिरिक्त सुरक्षा जाँच हुने गरेको आरोप समय–समयमा उठ्दै आएको छ। नाजिरको पछिल्लो अनुभवले पनि यही विषयलाई पुनः बहसमा ल्याएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd