आगामी नेपाली चलचित्र ‘मास्टर्नी’ को बहुप्रतीक्षित टिजर सार्वजनिक गरिएको छ। टिजरले आमा–छोरीको गहिरो सम्बन्धलाई केन्द्रमा राख्दै त्यसमा क्राइम थ्रिलरको रहस्यमय स्वाद मिसाएको छ।
केही दिनअघि सार्वजनिक गरिएको पोस्टरले उठाएका प्रश्नहरूको जवाफ टिजरले दिने प्रयास गरेको छ। एक रहस्यमय शवबाट सुरु हुने दृश्य र ‘छोरीको सुरक्षाभन्दा ठूलो अरू केही हुँदैन’ भन्ने संवादले आफ्नी सन्तान जोगाउन एक आमाले कति ठूलो जोखिम उठाउन सक्छिन् भन्ने कथावस्तुको संकेत गर्छ।
फ्यामिली ड्रामा र क्राइम थ्रिलरको मिश्रणमा बनेको चलचित्रको टिजरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारलाई प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ। टिजरको कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने ध्वनि मिश्रण मुकेश शाहको रहेको छ।
सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माताको भूमिकामा छन्। चलचित्रको पोस्ट–प्रोडक्सन नेपाल र भारत दुवै देशमा भइरहेको छ, जहाँ भारतीय प्राविधिक टोलीको समेत सहकार्य रहेको निर्माण पक्षले जनाएको छ।
चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा पनि प्रियंका र शानको सहकार्य रहेको छ। युवराज इन्दोरियाको छायांकन, राजा सिंह सिदुको सम्पादन, रोहित शाक्यको संगीत तथा त्रिशाला गुरुङको स्वर रहेको चलचित्र भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। नेपालमा यसको वितरण आरआर फिल्म्सले गर्नेछ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd