भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘बाटुलो जून’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार चलचित्र कात्तिक २६ गते अर्थात् नोभेम्बर १२ देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ । यो मिति भाइटीकाको भोलिपल्ट पर्छ ।
निर्माण पक्षले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो । यसअघि दशैंलाई लक्षित गरेर चलचित्र प्रदर्शन गर्ने तयारी थियो । तर, दशैंमा एकैपटक धेरै चलचित्र प्रदर्शनमा आउने भएपछि पर्दा बाँडफाँटलाई ध्यानमा राख्दै मिति परिवर्तन गरिएको निर्देशक भुवन केसीले बताएका छन् ।
“दशैंमा अन्य फिल्म पनि प्रदर्शनमा आउने भएपछि पर्दा बाँडफाँटमा समस्या हुने देखियो । त्यसैले प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै नयाँ मितिमा फिल्म ल्याउने निर्णय गरेका हौं,” केसीले भने ।
सार्वजनिक पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल भावमा प्रस्तुत भएका छन् । पोस्टरमा अनमोलको लुक्सले ५० को दशकको परिवेश झल्काउँछ । पछाडि बलिरहेको लाल्टिन र आकाशमा देखिएको चम्किलो जूनले उनीहरूबीचको आत्मीयतालाई संकेत गरेको छ ।
पोस्टरले ‘बाटुलो जून’ ग्रामीण परिवेशमा आधारित प्रेमकथामा केन्द्रित रहेको संकेत गर्छ । चलचित्रमा अनमोल र प्रिन्सीसँगै निर्देशक भुवन केसी, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय छ ।
सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जिया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सहनिर्माता छन् । चलचित्रको पटकथा सामिप्यराज तिमिलसेना र सरिन पोखरेलले तयार पारेका हुन् ।
‘बाटुलो जून’ अब कात्तिक २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd