दसैंको फूलपातीलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारसँगै अन्य कलाकारलाई समेत समेटिएको छ ।
गीतको भिडियोमा दीपकराज गिरी, केकी अधिकारी, कार्म, रिहान गिरी, रजनी केसी, मेक्सम गौडेल र जेसिका पोखरेललगायत कलाकार देखिएका छन् । मुख्य महिला पात्र गर्भवती भएपछि उनको खुसी साट्न आयोजना गरिएको विशेष समारोहलाई भिडियोको मुख्य परिवेश बनाइएको छ ।
उत्सवको माहोलमा तयार पारिएको गीतले भिडियोमा फेस्टिभल भाइब्स प्रस्तुत गर्छ । कलाकारहरूको सहभागिता र आकर्षक नृत्यले गीतको दृश्यलाई थप रंगीन बनाएको छ ।
गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको स्वर रहेको छ । अभि सुनारले गीतको संगीत निर्देशन गरेका हुन् ।
दीपेन्द्र लामाको निर्देशन तथा रोहित अधिकारीको निर्माण रहेको चलचित्र ‘छ माया छपक्कै २’ असोज ३१ गते अर्थात् दसैंको फूलपातीदेखि प्रदर्शनमा आउनेछ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd