अन्तरजातीय प्रेमकथामा आधारित चलचित्र ‘जदौ’ प्रदर्शनको तयारीमा छ । असोज ९ गते अर्थात् शुक्रबारदेखि हलमा आउने चलचित्रको दोस्रो विस्तारित ट्रेलर सार्वजनिक गरिएको छ । करिब साढे दुई मिनेट लामो ट्रेलरमा जातीय विभेदसँगै त्रिकोणात्मक प्रेम सम्बन्धलाई कथाको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ ।
‘जदौ हजुर’ र ‘तिमीसँग नबोली’ बोलका गीतले दर्शकमाझ चासो बढाइरहेका बेला सार्वजनिक गरिएको नयाँ ट्रेलरले चलचित्रको कथाबारे थप संकेत दिएको छ । ट्रेलरमा प्रेमसँगै सामाजिक विभेद, सम्बन्धमा आउने उतारचढाव र पात्रहरूको संघर्षलाई देखाइएको छ ।
सार्वजनिक ट्रेलरले युट्युबमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ । कतिपय दर्शकले कलाकारहरूको संवाद र अभिनयको प्रशंसा गरेका छन् भने केहीले चलचित्रले समाजको यथार्थ विषय उठाएको प्रतिक्रिया दिएका छन् । मुख्य अभिनेता प्रभात पाल ठकुरीको लुक्स तथा अभिनयले पनि दर्शकको ध्यान खिचेको छ ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको चलचित्रमा ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्गबहादुर पुन मगर (खबपु), सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा र रोहित कार्कीलगायत कलाकारको अभिनय छ । चलचित्रको लेखन निर्देशक काजी लिम्बूले गरेका हुन् ।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको चलचित्रमा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन तथा रामजी लामिछानेको कोरियोग्राफी छ । मिलन श्रेष्ठले द्वन्द्व निर्देशन गरेका छन् ।
चलचित्रमा मनोज चौलागाईं र भुपेन्द्र बज्राचार्यको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको छ । ‘जदौ’को प्रदर्शनका लागि विभिन्न हलमा बुकिङसमेत खुल्न थालेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd