निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गरेसँगै चलचित्रको छायांकन औपचारिक रूपमा थालिएको हो ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको चलचित्रलाई निर्देशक चौधरीले आफ्नो अघिल्ला कामभन्दा फराकिलो क्यानभासमा प्रस्तुत गर्ने तयारी गरेका छन् । एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुने चलचित्रको छायांकनका लागि ७० दिनको समय निर्धारण गरिएको छ । यसको अधिकांश दृश्य पूर्वी नेपालका विभिन्न स्थानमा खिचिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठको अभिनय रहनेछ । अनुभवी तथा चर्चित कलाकारहरूको समूहसँग काम गर्न पाउँदा निर्देशक चौधरी उत्साहित छन् ।
चलचित्रमा सौगात मल्लले विशेष चुनौतीपूर्ण भूमिका निर्वाह गर्दैछन् । निर्देशकका अनुसार उनले एउटै पात्रको २५ वर्षको उमेरदेखि ८० वर्षसम्मको जीवनयात्रालाई पर्दामा प्रस्तुत गर्नेछन् । फरक–फरक उमेरको चरित्रलाई एउटै भूमिकामार्फत उतार्नु सौगातका लागि पनि महत्वपूर्ण अभिनय चुनौती बन्नेछ ।
दयाहाङ राईसँग भने निर्देशक चौधरीले पहिलोपटक सहकार्य गरेका हुन् । चलचित्रमा दयाहाङलाई यसअघि देखिँदै आएको भन्दा फरक चरित्रमा प्रस्तुत गर्न लागिएको निर्देशकको भनाइ छ । यसअघि ‘अगस्त्यः च्याप्टर १’मा सौगात मल्ल र विजय बरालसँग काम गरिसकेका चौधरीले उनीहरूसँग पुनः सहकार्य गरेका छन् ।
सुशील श्रेष्ठसँग निर्देशक चौधरीको सहकार्य पनि करिब ६ वर्षपछि हुँदैछ । उनीहरूबीच सौरभको पहिलो निर्देशकीय चलचित्र ‘लभ डायरीज’मा सहकार्य भएको थियो । यस्तै, अमरप्रताप श्रेष्ठले ‘द राइज अफ साम्राज्य’कै लागि निर्देशक चौधरीको प्रत्यक्ष निगरानीमा करिब साढे दुई वर्षदेखि अभिनय प्रशिक्षण लिँदै आएका छन् ।
“अभिनयमा अब्बल कलाकारहरूलाई चलचित्रमा जोड्न पाउँदा उत्साहित छु,” निर्देशक चौधरीले भने ।
चलचित्रको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले तयार पारेका हुन् । निर्माण पक्षले ‘द राइज अफ साम्राज्य’लाई नेपाली चलचित्रकै ठूलो स्केलको एक्सन फिल्म बनाउने लक्ष्य राखेको जनाएको छ ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत (बेन) को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् । मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकमा छन् । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो तथा वितरक डिसीएन रहेका छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd