logo

२०८३ असोज ३० शुक्रबार

‘टनेल २६’को ट्रेलर सार्वजनिक

‘टनेल २६’को ट्रेलर सार्वजनिक

299
SHARES
‘टनेल २६’को ट्रेलर सार्वजनिक

दसैंको अवसर पारेर असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६’को ट्रेलर सार्वजनिक भएको छ । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्मको ट्रेलरले यसको मुख्य कथावस्तु र प्रस्तुतिको झलक दिएको छ ।

ट्रेलरअनुसार फिल्मको कथा भुटानमा रहेको जलविद्युत् आयोजनाको सुरुङभित्र हुने एउटा ठूलो दुर्घटनाबाट अघि बढ्छ । सुरुङमा काम भइरहेका बेला भएको हताहतीपछि घटनाले अप्रत्याशित मोड लिन्छ । संक्रमणका कारण मृत्यु भएका मानिसहरू पुनः जीवित भएर जोम्बीमा परिणत भएपछि उत्पन्न त्रास र संघर्षलाई फिल्मको कथाको केन्द्रमा राखिएको देखिन्छ ।

ट्रेलरमा फिल्मको मेकिङ, प्राविधिक पक्ष र दृश्य प्रस्तुतिलाई विशेष प्राथमिकता दिइएको छ । सुरुङभित्रको सीमित परिवेश, दुर्घटनापछिको भयावह अवस्था र जोम्बी पात्रहरूको प्रस्तुतिले फिल्मलाई थ्रिलर तथा हरर स्वाद दिएको छ ।

डीडी किन्लेले लेखन तथा निर्देशन गरेको फिल्ममा अनुप विक्रम शाही, आना शर्मा, सांगे सेल्ट्रिम, रोशिनी दादा, निदुप दोर्जी, फुन्त्सोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्त्सो, किनराब, चेन्चो लामा र केजाङ काजलगायत कलाकारको अभिनय छ । प्रदीप खड्का फिल्ममा विशेष भूमिकामा देखिएका छन् । उनी फिल्मका क्रिएटिभ प्रोड्युसरसमेत हुन् ।

संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन नेपालका दीर्घ गुरुङ र भुटानका सांगे टी तेन्जिङले गरेका हुन् । डीडी किन्लेले सम्पादन गरेको फिल्ममा तेर्डसाक जानपानको ब्याकग्राउन्ड म्युजिक तथा राजु तामाङको द्वन्द्व निर्देशन छ ।

फिल्मको सम्पूर्ण छायांकन भुटानमा गरिएको हो । ‘टनेल २६’ नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।


बुधबार, ७ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go