दसैंको अवसर पारेर असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६’को ट्रेलर सार्वजनिक भएको छ । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्मको ट्रेलरले यसको मुख्य कथावस्तु र प्रस्तुतिको झलक दिएको छ ।
ट्रेलरअनुसार फिल्मको कथा भुटानमा रहेको जलविद्युत् आयोजनाको सुरुङभित्र हुने एउटा ठूलो दुर्घटनाबाट अघि बढ्छ । सुरुङमा काम भइरहेका बेला भएको हताहतीपछि घटनाले अप्रत्याशित मोड लिन्छ । संक्रमणका कारण मृत्यु भएका मानिसहरू पुनः जीवित भएर जोम्बीमा परिणत भएपछि उत्पन्न त्रास र संघर्षलाई फिल्मको कथाको केन्द्रमा राखिएको देखिन्छ ।
ट्रेलरमा फिल्मको मेकिङ, प्राविधिक पक्ष र दृश्य प्रस्तुतिलाई विशेष प्राथमिकता दिइएको छ । सुरुङभित्रको सीमित परिवेश, दुर्घटनापछिको भयावह अवस्था र जोम्बी पात्रहरूको प्रस्तुतिले फिल्मलाई थ्रिलर तथा हरर स्वाद दिएको छ ।
डीडी किन्लेले लेखन तथा निर्देशन गरेको फिल्ममा अनुप विक्रम शाही, आना शर्मा, सांगे सेल्ट्रिम, रोशिनी दादा, निदुप दोर्जी, फुन्त्सोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्त्सो, किनराब, चेन्चो लामा र केजाङ काजलगायत कलाकारको अभिनय छ । प्रदीप खड्का फिल्ममा विशेष भूमिकामा देखिएका छन् । उनी फिल्मका क्रिएटिभ प्रोड्युसरसमेत हुन् ।
संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन नेपालका दीर्घ गुरुङ र भुटानका सांगे टी तेन्जिङले गरेका हुन् । डीडी किन्लेले सम्पादन गरेको फिल्ममा तेर्डसाक जानपानको ब्याकग्राउन्ड म्युजिक तथा राजु तामाङको द्वन्द्व निर्देशन छ ।
फिल्मको सम्पूर्ण छायांकन भुटानमा गरिएको हो । ‘टनेल २६’ नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd