असोज ९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘बा : एक योद्धा’ले काठमाडौंमा आयोजित प्रिमियरबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । मंगलबार साँझ सम्पन्न प्रिमियरमा सहभागी चलचित्रकर्मी, कलाकार, संगीतकर्मी तथा सञ्चारकर्मीले चलचित्रको कथालाई नेपाली समाजका थुप्रै परिवारको जीवनसँग जोडिएको बताएका छन् ।
नेपालगञ्ज, दाङ, धरान र बुटवलमा भएका प्रदर्शनबाट समेत सकारात्मक प्रतिक्रिया बटुलेको चलचित्रले बुवाले सन्तानको भविष्यका लागि गर्ने संघर्ष, त्याग र वृद्ध अवस्थामा सन्तानबाटै भोग्नुपर्ने पीडालाई कथाको मुख्य विषय बनाएको छ ।
रोजगारी, अध्ययन तथा अवसरको खोजीमा सन्तान विदेशिने क्रम बढिरहेका बेला घरमा रहेका बुवाआमाले भोग्ने एक्लोपन, उपेक्षा र पारिवारिक दूरीलाई चलचित्रले प्रस्तुत गरेको छ । जीवनभर सन्तानको भविष्य निर्माणमा लाग्ने अभिभावक र विदेश पुगेपछि उनीहरूप्रतिको जिम्मेवारीबाट टाढिँदै जाने सन्तानबीचको सम्बन्धलाई कथामा देखाइएको छ ।
प्रिमियरपछि अभिनेता हरिवंश आचार्यले चलचित्रले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिए । उनले चलचित्रमा देखाइएको बुवाको त्याग र अहिलेको पुस्तामा बढिरहेको पलायन तथा अपेक्षाबीचको सम्बन्धलाई समसामयिक विषयका रूपमा व्याख्या गरे ।
आफ्नो पुस्ताको अनुभव चलचित्रको कथासँग पूर्ण रूपमा नमिले पनि आधुनिक समाजको यथार्थसँग कथा नजिक रहेको आचार्यको भनाइ थियो । “मलाई चलचित्र राम्रो लाग्यो । रुन मन लाग्यो । सितिमिति लोग्नेमान्छे रुँदैनन्, मनमनै रोएँ,” उनले भने ।
उनले सन्तानको चाहना पूरा गर्नु नै बुवाआमाको ठूलो खुसी हुने बताउँदै चलचित्रले यही भावनालाई बुवाको चरित्रमार्फत प्रस्तुत गरेको उल्लेख गरे । दिव्यदेवको अभिनयको प्रशंसा गर्दै उनले चलचित्रको सुरुवाती भाग केही विस्तारै अघि बढे पनि त्यसपछि कथाले दर्शकलाई समात्दै लैजाने प्रतिक्रिया दिए ।
“सबै कलाकारको पर्फर्मेन्स एकदमै राम्रो छ । टेक्निक्ली पनि क्यामेरा र अरू सबै राम्रो छ । समष्टिगत रूपमा चलचित्र राम्रो लाग्यो,” आचार्यले भने ।
पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले चलचित्रको कथावस्तु, प्रस्तुति र सन्देश प्रभावकारी रहेको प्रतिक्रिया दिए । उनका अनुसार चलचित्रले वर्तमान समाजमा बढ्दै गएको स्वार्थ र त्यसको पारिवारिक सम्बन्धमा परेको प्रभावलाई कथामार्फत प्रस्तुत गरेको छ ।
“हाम्रो आफ्नो जनजीवनमा जे अवस्था छ, कथावस्तुले त्यसलाई समेटेको छ । कथा उत्कृष्ट छ, प्रस्तुति पनि उत्कृष्ट छ र यसले दिन खोजेको सन्देश पनि उत्कृष्ट छ,” उनले भने ।
अभिनेत्री ऋचा शर्माले चलचित्रलाई “एकदमै मिठो” प्रतिक्रिया दिइन् । उनले झरना थापाको अभिनयको प्रशंसा गर्दै सुहाना थापाको अभिनयमा पनि क्रमशः निखार आइरहेको बताइन् । चलचित्रको मुख्य आकर्षणका रूपमा भने उनले दिव्यदेवलाई उल्लेख गरिन् ।
“यो सिनेमाको सुपरस्टार को हो भन्ने हामी सबैलाई थाहा छ– दिव्य देव पन्त,” ऋचाले भनिन् । दिव्यदेवले आफूलाई दिइएको भूमिकामा उत्कृष्ट काम गरेको उल्लेख गर्दै उनले कलाकारको सहज देखिने अभिनय पछाडि रहेको मेहनत चलचित्रमा स्पष्ट देखिएको बताइन् ।
‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पा थिङ लामाले पनि चलचित्रले आफूलाई भावुक बनाएको बताइन् । विशेषगरी दिव्यदेवले निर्वाह गरेको बुवाको चरित्र र चलचित्रको “तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो” भन्ने संवादले आफूलाई छोएको उनले बताइन् ।
“धेरै ठाउँमा रुवायो । अझ स्पेशली ‘तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो’ भन्ने संवादले निकै छोयो । त्यो कस्तो निरीह अवस्था ! कसैको बुवा अथवा कसैको जिन्दगीमा त्यस्तो अवस्था नआओस् भन्ने लाग्यो,” उनले भनिन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै हो । वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन् ।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले चलचित्रको वितरण गर्दैछ ।
‘बा : एक योद्धा’ असोज ९ गते अर्थात् शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd