logo

२०८३ असोज ७ बुधबार

‘२६ करोड’को मुम्बईमा औपचारिक घोषणा

‘२६ करोड’को मुम्बईमा औपचारिक घोषणा

13
SHARES
‘२६ करोड’को मुम्बईमा औपचारिक घोषणा

विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘२६ करोड’को मुम्बईमा औपचारिक घोषणा गरिएको छ । मंगलबार साँझ मुम्बईस्थित पाँचतारे होटल ताज ल्याण्ड्स एन्डमा आयोजित ‘रोज डे’ समारोहमा बलिउड अभिनेता विवेक ओबेरोय र निर्माता सुभाष भुसालले संयुक्त रूपमा फिल्मको घोषणा गरेका हुन् ।

क्यान्सर पीडितको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा फिल्मको मुख्य भूमिकामा साहारा शाहलाई समेत अनुबन्ध गरिएको जानकारी दिइयो । नेपाली मूलकी साहाराले ‘२६ करोड’मार्फत अभिनेत्रीका रूपमा फिल्मी यात्रा सुरु गर्न लागेकी हुन् ।

साहाराले बलिउड अभिनेता अनुपम खेरको ‘एक्टर प्रिपेयर्स एकेडेमी’बाट अभिनय प्रशिक्षण लिएकी छन् । उनी स्वयं क्यान्सरबाट निको भएकी हुन् । लामो समयदेखि अभिनेता विवेक ओबेरोयले उनको अभिभावकत्व सम्हाल्दै आएका छन् ।

फिल्म घोषणा कार्यक्रममा ओबेरोयले साहाराको फिल्म डेब्युलाई आफ्नो लागि विशेष क्षणका रूपमा व्याख्या गरे । उनले क्यान्सरसँग संघर्ष गरिरहेकी बालिकाका रूपमा साहारालाई देखेको स्मरण गर्दै अहिले उनी मुख्य अभिनेत्रीका रूपमा फिल्ममा अनुबन्धित हुँदा भावुक भएको बताए ।

“मैले साहारालाई क्यान्सरसँग लड्दै गरेको एउटा सानो बच्चाको रूपमा देखेको थिएँ । आज उनले क्यान्सरलाई जितेर फिल्मको मुख्य नायिकाको रूपमा सम्झौता गरिरहँदा म शब्दमा बयान गर्न नसकिने गरी भावुक भएको छु,” ओबेरोयले भने ।

सामाजिक विषयवस्तुमा आधारित हुने फिल्ममा अभिनेता प्रदीप खड्का यसअघि नै अनुबन्धित भइसकेका छन् । फिल्ममा प्रदीप र साहाराको जोडी देखिनेछ ।

किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने ‘२६ करोड’को छायांकन आगामी डिसेम्बर अर्थात् पुसबाट सुरु गर्ने तयारी छ । नेपाल र भारतका विभिन्न स्थानमा छायांकन गरिने फिल्मको कथा तथा लेखन पनि निर्देशक विकास सुवेदीकै रहेको छ ।


बुधबार, ७ असोज २०८३
सम्बन्धित समाचार
Go