logo

२०८३ असोज ३० शुक्रबार

‘२६ करोड’को मुम्बईमा औपचारिक घोषणा

‘२६ करोड’को मुम्बईमा औपचारिक घोषणा

182
SHARES
‘२६ करोड’को मुम्बईमा औपचारिक घोषणा

विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘२६ करोड’को मुम्बईमा औपचारिक घोषणा गरिएको छ । मंगलबार साँझ मुम्बईस्थित पाँचतारे होटल ताज ल्याण्ड्स एन्डमा आयोजित ‘रोज डे’ समारोहमा बलिउड अभिनेता विवेक ओबेरोय र निर्माता सुभाष भुसालले संयुक्त रूपमा फिल्मको घोषणा गरेका हुन् ।

क्यान्सर पीडितको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा फिल्मको मुख्य भूमिकामा साहारा शाहलाई समेत अनुबन्ध गरिएको जानकारी दिइयो । नेपाली मूलकी साहाराले ‘२६ करोड’मार्फत अभिनेत्रीका रूपमा फिल्मी यात्रा सुरु गर्न लागेकी हुन् ।

साहाराले बलिउड अभिनेता अनुपम खेरको ‘एक्टर प्रिपेयर्स एकेडेमी’बाट अभिनय प्रशिक्षण लिएकी छन् । उनी स्वयं क्यान्सरबाट निको भएकी हुन् । लामो समयदेखि अभिनेता विवेक ओबेरोयले उनको अभिभावकत्व सम्हाल्दै आएका छन् ।

फिल्म घोषणा कार्यक्रममा ओबेरोयले साहाराको फिल्म डेब्युलाई आफ्नो लागि विशेष क्षणका रूपमा व्याख्या गरे । उनले क्यान्सरसँग संघर्ष गरिरहेकी बालिकाका रूपमा साहारालाई देखेको स्मरण गर्दै अहिले उनी मुख्य अभिनेत्रीका रूपमा फिल्ममा अनुबन्धित हुँदा भावुक भएको बताए ।

“मैले साहारालाई क्यान्सरसँग लड्दै गरेको एउटा सानो बच्चाको रूपमा देखेको थिएँ । आज उनले क्यान्सरलाई जितेर फिल्मको मुख्य नायिकाको रूपमा सम्झौता गरिरहँदा म शब्दमा बयान गर्न नसकिने गरी भावुक भएको छु,” ओबेरोयले भने ।

सामाजिक विषयवस्तुमा आधारित हुने फिल्ममा अभिनेता प्रदीप खड्का यसअघि नै अनुबन्धित भइसकेका छन् । फिल्ममा प्रदीप र साहाराको जोडी देखिनेछ ।

किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने ‘२६ करोड’को छायांकन आगामी डिसेम्बर अर्थात् पुसबाट सुरु गर्ने तयारी छ । नेपाल र भारतका विभिन्न स्थानमा छायांकन गरिने फिल्मको कथा तथा लेखन पनि निर्देशक विकास सुवेदीकै रहेको छ ।


बुधबार, ७ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go