logo

२०८३ भाद्र १२ शुक्रबार

गायक रामजी खाँड र गायिका शान्तारानी परियारलाई १० प्रश्न ?

गायक रामजी खाँड र गायिका शान्तारानी परियारलाई १० प्रश्न ?

  • kollywood 1
  • शनिबार, १६ साउन २०८३
533
SHARES
गायक रामजी खाँड र गायिका शान्तारानी परियारलाई १० प्रश्न ?

१. तीज नजिकै आइसकेको छ । यो वर्ष कति वटा गीत गाउने प्लानिङ छ ? कति वटा गीत रेकर्ड भइसके ?



शान्तारानी परियार: गीतहरू लगभग धेरै नै रेकर्ड भइसकेका छन् । अहिले तत्कालको कुरा गर्नु पर्दा रामजी खाँड दाइले र मैले गाएको ‘पुतली नानी’ बजारमा आएको छ । तीजका लागि एउटा–दुइटा गीत मात्रै गाउने अवस्था भएन । धेरै गीतमा हामी दुवै जना सर्जकहरूको रोजाइमा पर्ने कलाकार हौँ । म बीचमा अलिकति बाहिर भएको कारणले त्यति धेरै गीतहरू रेकर्ड गर्न पाइनँ । बाहिर जाँदा लगभग १५–२० वटा गीतहरू भ्याइयो ।

२. रामजी खाँड, तीज तपाईंलाई कतिको लागिरहेको छ ? यो वर्ष कति वटा गीत तपाईंको आवाजमा दर्शकले सुन्न पाउलान् ?

रामजी खाँड: तीजमा त रमाइलो नै हुन्छ, किनभने यो विशेषगरी महिलाहरूको महान् चाड हो । महिलाहरूलाई विशेषगरी सजाउनको लागि हामी गाउँछौँ । तीजमा व्यस्त रहिन्छ । मेरो चाहिँ त्यस्तो धेरै छैन । पहिला पनि खासै धेरै थिएन, सीमित सेलेक्ट गीतहरू थिए । अहिले पनि त्यति धेरै मेरो हिसाबमा संख्यात्मक रूपमा छैन । केही गीतहरू आउने तयारीमा छन् । एउटा गीत त आइनै सक्यो, ‘पुतली नानी’ । गाउन त म संख्यात्मक हिसाबले नै गाउने मान्छे, कलाकार हो । तर अहिले नयाँ पुस्ता र नयाँ जेनेरेसन आइसक्नुभएको छ । प्रायः सर्जकहरूले आफैं पनि गाउनुहुन्छ । त्यो हिसाबले पनि क्वान्टिटीको हिसाबमा थोरै छ । तर बजारमा आइसकेपछि त्यसलाई श्रोताहरूले कसरी लिनुहुन्छ, कति दर्शकहरूले कसरी लिनुहुन्छ भन्नेमा भर पर्ने कुरा हो । मलाई लाग्छ, सबै राम्रा गीतको मिलियन भ्युज पनि हुँदैन र सबै मिलियन भ्युज भएका गीत राम्रा पनि हुँदैनन् । राम्रो गीत हुनुपर्‍यो, आफू चाहिँ सन्तुष्ट हुनुपर्‍यो, आफूले गरेको सिर्जनामा सन्तुष्ट हुनुपर्‍यो । ‘पुतली नानी’बाट चाहिँ मलाई सन्तुष्टि मिलेको छ । हालसालै दुई–तीन दिन भयो गीत रिलिज भएको, रेस्पोन्स एकदमै राम्रो छ ।

३. तपाईंले विगत लामो समयदेखि लोक सांगीतिक क्षेत्रमा काम गरिरहनुभएको छ । विशेषगरी तीजका गीत संगीतमा कस्तो परिवर्तन भइरहेको जस्तो लाग्छ ?

रामजी खाँड: तीजमा मैले थाहा पाएअनुसार पहिला गाउँघरमा रेकर्डभन्दा पनि दिदीबहिनीहरू, चेलीहरू माइत आएर आफ्ना दुःखेसोहरू पोख्ने एउटा थलो बनेको थियो तीज । आफ्नो दुःख, व्यथा अथवा घटनाहरूलाई लिएर गीतहरू त्यसरी सिर्जित हुन्थे ।
त्यसरी हुँदै–हुँदै क्यासेटमा आयो । क्यासेटमा पनि छोरीहरूले नै बढी गाउनुहुन्थ्यो । पछि–पछि गायकहरूले पनि गाउन थाल्नुभयो । हाम्रो आदरणीय दाइहरूले गाउन थाल्नुभयो । त्यसमा पनि केही क्यारेक्टर हुन्थ्यो । दिदी माइती छ भने दिदी लिन जाने, सपोर्टिङ क्यारेक्टरका रूपमा भाइ, दाइ, श्रीमान् अथवा देवर बनेर गीतमा आउने अवस्था थियो । त्यसरी क्यारेक्टरमा गीतहरू आउन थाले । त्यसपछि अलिकति पुरुषमय हुन थाल्यो कि जस्तो पनि लाग्यो । अहिले भने बराबरजस्तै छ । अझै पनि अहिले छोरी मान्छेहरूले, गायिकाहरूले बढी जित्नुभएको छ । किनभने तीज विशेषगरी महिला दिदीबहिनीहरूको लागि हो । पुरुष पात्र भनेको सपोर्टिङ क्यारेक्टर हो । कहिले देवर बनेर, कहिले भाइ बनेर, कहिले दाइ बनेर गीत गाउने हो । अहिले राम्रो प्रगति भइरहेको छ । विशेषगरी महिलाहरू नै बढी अग्रसर हुनुभएको छ ।

४. तीज विशेष गीत संगीतमा अलिकति विकृति पनि आइरहेको छ भनिन्छ । तपाईंलाई कस्तो लाग्छ ?

शान्तारानी परियार: पहिला र अहिले अलिकति फरक हो कि जस्तो लाग्छ । अघि दाइले भनेजस्तै भाइको रोल, देवरको रोल, भाउजुको रोल, आमाको रोल गरेर पहिला त्यसरी गीत गाइन्थ्यो । अहिले त्यो अलिकति कम भएको जस्तो लाग्छ ।
पहिला कस्तो थियो भने अलिकति दिदीबहिनीहरू तीजमा माइता जान पनि नपाउने, अलिकति धेरै टाढा हुने अवस्था थियो । त्यो पनि हुन्थ्यो । अहिले त त्यो अलिकति छैन कि जस्तो लाग्छ । उहाँहरू जान चाहनुभयो भने जान सक्नुहुन्छ, सहज छ ।
गीतहरू पनि त्यही भएर होला, अलिकति परिवर्तन भएका छन् जस्तो लाग्छ पहिलाभन्दा ।

५. ‘पुतली नानी’मा रामजी खाँडसँग तपाईंको दोस्रोपटक सहकार्य भएको छ । यो सहकार्य कस्तो भइरहेको छ ? गीतको रेस्पोन्स कस्तो छ ?

शान्तारानी परियार: मैले पोहोर साल पनि दाइसँग एउटा गीत गाएकी थिएँ । अहिले पनि दाइसँग जोडिन पाउँदा चाहिँ एकदमै खुसी लागेको छ । मैले अघि नै भनिसकेँ, दाइहरूको कालजयी गीतहरू छन् । फास्ट बिटको किन नहोस्, स्लो बिटको किन नहोस्, दाइको सोलो गीतहरू एकदमै मन पराउने, नसुनी नहुने दर्शक–श्रोताहरू पनि त्यत्तिकै हुनुहुन्छ । दाइका दुवै खाले गीतहरू छन् । मनोरञ्जनमा रामजी दाइले धेरै नचाउन सफल हुनुभएको जस्तो लाग्छ । स्लो टाइपको गीतले पनि बराबरी नै छ । दाइको स्टेजमा पनि त्यस्तै क्रेज छ । सोलो गीत पनि मलाई लाग्छ, दाइको सोलो गीत सुन्ने बानी परेको दर्शक–श्रोताहरूलाई दाइको सोलो गीत नसुनी निद्रै लाग्दैन जस्तो लाग्छ । किनकि दाइका कति राम्रो–राम्रो, कति हिट–हिट गीतहरू छन् । त्यही भएर बराबरी हो जस्तो लाग्छ मलाई । दाइको दुवै खाले फ्यान छन् ।

६. ‘पुतली नानी’ गीतको सिर्जना कसरी भयो ?

रामजी खाँड: यो खासै अब कसरी सिर्जना भयो भन्ने कुरा गर्दा शब्द हाम्रो कृष्ण लामिछानेबाट पाएको हो । उहाँले मलाई एक–दुई लाइन ‘हे तिम्रो फिगर दामी’ वाला सुनाउनुभयो । त्यसपछि पछाडि ‘पुतली नानी’ भन्ने एउटा थेगो पाएँ । अब पुतली नानी राख्ने भनेपछि अगाडि के राख्ने त भन्नेमा सोच्यौँ । त्यसपछि पानीले, नानीले, सानीले भन्ने मिलाउनुपर्‍यो । अनि हामीले सोच्यौँ, तीजलाई हो भने अलिकति भाइब्स तीजको आउने गरेर एउटा साडी चाहिँ राखौँ । नाम चाहिँ ‘चाइनाको साडी’ राखौँ भनेर ‘चाइनाको साडी भिजायो लौ न छिपछिपे पानीले’ भन्ने ठ्याक्कै आयो । बीचमा के राख्ने त भन्ने भयो । त्यसपछि हामी दुई–चार जना भाइहरू थियौँ, छलफल गर्‍यौँ । के गर्ने होला त भन्दा यस्तै–यस्तै गर्दा ‘पानीले साडी भिजायो, छिपछिपे पानीले’ भन्ने आयो । अब के गर्ने त भन्दा उचालेर नाच्ने भन्ने कुरा आयो । त्यसपछि र्‍याम मिलाइयो र ‘छिपछिपे पानीले, उचाली नाचन पुतली नानीले’ बन्यो । यसरी हामीले तीजको भाइब्स आउने गरेर गीत बनाएका हौँ । खासै त्यस्तो गहिरो सोच गरेर होइन । अलिकति डान्सिङ नम्बर गरौँ भन्ने मात्रै हो । चेलीबेटी नचाउनुपर्छ, आफूले पनि गाउनुपर्छ, कार्यक्रमहरूमा जानुपर्छ भन्ने हिसाबले सबै कुरालाई ध्यानमा राखेर बनाएको गीत हो । खासै त्यस्तो मेहनत गरेर बनाएको गीत होइन, तर समग्रमा अहिले जतिले हेर्नुभएको छ, राम्रै रेस्पोन्स दिनुभएको छ ।

७. ‘पुतली नानी’मा शान्तारानी परियारलाई नै छनोट गर्नुको कारण के हो ?

रामजी खाँड: शान्तारानीको अहिले पछिल्लो समयमा लोकप्रियता र चर्चा त्यत्तिकै छ । कमर्सियल रूपमा राम्रो हुनुहुन्छ । सबैको रोजाइमा पहिलो रोजाइमा नै बहिनी पर्नुहुन्छ । अर्को कुरा, यसको भाइब्स पनि बहिनीसँग मिल्न जाने भयो । अघिल्लो उहाँले गाउनुभएका गीतहरू हिट नम्बर छन् । त्यही भाइब्स भएको भएर शान्तारानीलाई नै हामीले छनोट गर्‍यौँ ।

८. रामजी खाँडसँग गीत गाउन पाउँदा तपाईंलाई कस्तो महसुस भयो ?

शान्तारानी परियार: अब मैले भने नि, दाइहरूसँग म जोडिन पाउनु, दाइहरूसँग गीत गाउन पाउनु त म भाग्यमानी हो नि । म हिजोको दिनमा दाइहरूको गीत सुनेर, दाइहरूको पाइला पछ्याउँदै यो क्षेत्रमा लागेको मान्छे हुँ । त्यही भएर दाइले कल गर्दा त म एकदमै खुसी भएँ । एउटा राम्रो गीत आफ्नो पोल्टामा आउने भयो भन्ने फिल भयो । हुन त नयाँ सर्जकहरूलाई मैले नराम्रो भन्न खोजेको होइन, आफ्ना समकालीन साथीहरूलाई पनि नराम्रो भन्न खोजेको होइन । तर जति पनि अग्रज कलाकारहरू हुनुहुन्छ, अग्रज कलाकारहरूसँग जोडिन पाउँदा छुट्टै खालको मजा र खुसी हुन्छ । किनकि हिजोका दिनमा त्यही आवाज सुनेर, त्यही गायकको फोटो एल्बमको पोस्टरमा हेरेर हामी यो क्षेत्रमा आएका हौँ । त्यही भएर खुशी लाग्छ एकदमै ।

९. ‘पुतली नानी’ गीतबाट कस्तो प्रकारको अपेक्षा गर्नुभएको छ ?

रामजी खाँड: मैले त्यस्तो अपेक्षै गरेको छैन । मैले त मेरो आफ्नो कर्तव्य पूरा गरेको हो । किनभने यो मेरो गाउने धर्म हो नि त, म त कलाकार हो । अब मेरो आधा जिन्दगी त मैले गीत संगीतमै बिताएँ भने यो त मेरो एउटा धर्म हो । मैले आफ्नो कर्तव्य पूरा गरेको छु । किनभने म यो फिल्ड छोडेर अन्य व्यवसायतिर लाग्ने, अन्त जाने भन्ने नै छैन । निरन्तर यही कर्ममा लाग्ने हो । त्यही भएर पनि मैले यो आफ्नो कर्म गरेको हो । मैले दर्शकहरूलाई, श्रोताहरूलाई एउटा प्रसादको रूपमा पस्केको छु । त्यो श्रोताहरूले स्वीकार गर्ने हो । तर अहिलेसम्मको रेस्पोन्स राम्रो छ । उहाँहरूले माया राम्रो दिनुभएको छ ।

१०. पछिल्लो समय लोक गायकहरू फिल्ममा हिरो बनिरहनुभएको छ । तपाईंको पनि फिल्ममा काम गर्ने योजना छ ? अफर आयो भने के गर्नुहुन्छ ?

रामजी खाँड: अहिले केही पनि छैन । त्यो अफर पनि छैन । अहिले मलाई त्यो इन्ट्रेस्ट पनि छैन, त्यो उमेरले पनि होला । तर एउटा समय एउटा ऊर्जा चाहिँ थियो, फिल्ममा काम गर्थें । अहिले लोक गीतको कलाकारलाई धेरै किसिमले क्याच गरिरहेको छ । लोक संगीतमा राम्रो भएको कलाकार, जस्तो भनौँ न प्रकाश सपुत, उहाँ गायक भएरै फिल्ममा काम गर्नुभयो, राम्रै गरिराख्नुभएको छ । पशुपति शर्मा अहिले हिरो बन्दै हुनुहुन्छ । अरू कलाकारको पनि कुरा आएको छ, साइन नभएकोले मैले नभनेको । मेरो पनि आफ्नो अवस्था छ । तर त्यस्तो प्लानिङ छैन ।


शनिबार, १६ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go