logo

२०८३ भाद्र ३१ बुधबार

बुसान फिल्म फेस्टिभलमा नेपाली लघु चलचित्र ‘चुम्पा’को वर्ल्ड प्रिमियर

बुसान फिल्म फेस्टिभलमा नेपाली लघु चलचित्र ‘चुम्पा’को वर्ल्ड प्रिमियर

13
SHARES
बुसान फिल्म फेस्टिभलमा नेपाली लघु चलचित्र ‘चुम्पा’को वर्ल्ड प्रिमियर

नेपाली लघु चलचित्र ‘चुम्पा : अ डल अन्डर द बास्केट’ले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ। राजेश प्रसाद खत्रीको लेखन तथा निर्देशन रहेको चलचित्र ३१औँ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको हो।

चलचित्र बुसानको ‘एसियन सर्ट कम्पिटिसन’अन्तर्गत ‘वाइड एङ्गल सेक्सन’मा आधिकारिक रूपमा छनोट भएको जनाइएको छ।

२० मिनेट लामो चलचित्रले नेपालको दुर्गम ग्रामीण भेगमा अझै विद्यमान बालविवाहको समस्या र त्यसले किशोरीको शिक्षा, स्वतन्त्रता तथा भविष्यमा पार्ने प्रभावलाई कथाको मुख्य विषय बनाएको छ।

चलचित्रकी केन्द्रीय पात्र १४ वर्षीया मुना कक्षा ८ मा अध्ययनरत प्रतिभाशाली किशोरी हुन्। पढाइ पूरा गरेर आफ्नै निर्णयमा जीवन अघि बढाउने उनको सपना छ। तर परिवार र समुदायको परम्परागत सोचले उनलाई बालविवाहका लागि बाध्य बनाउँछ।

विवाहकै दिन मुना आफ्नो शिक्षा जोगाउने उद्देश्यले शिक्षिकाको घरमा पुगेर सहयोग माग्छिन्। तर गाउँलेहरूले उनलाई त्यहाँबाट समेत हटाएर विवाहको प्रक्रियामै फर्काउँछन्। यही घटनाक्रममार्फत चलचित्रले ग्रामीण समाजमा महिलामाथि पर्ने सामाजिक दबाब, शिक्षाको सीमित पहुँच र परम्पराका नाममा हुने लैङ्गिक विभेदलाई प्रस्तुत गरेको छ।

चलचित्रमा ‘चुम्पा’ नामको परम्परागत पुतलीलाई एउटा प्रतीकका रूपमा प्रयोग गरिएको छ। निर्माण पक्षका अनुसार यो पुतलीले हराएका आवाज र महिलाको प्रतिरोधलाई प्रतिनिधित्व गर्छ।

कबिता बुढाले मुनाको भूमिका निर्वाह गरेकी छन्। बिनिता थापा मगर र मीरा खड्का शिक्षिकाको भूमिकामा छन् भने दिपेश मल्ल बेहुलाको भूमिकामा देखिएका छन्। चलचित्र खस भाषामा निर्माण गरिएको हो भने यसको छायांकन पश्चिम–उत्तर नेपालको ग्रामीण क्षेत्रमा गरिएको छ।

प्राकृतिक प्रकाश, वास्तविक लोकेसन र न्यून उपकरणको प्रयोगमार्फत चलचित्रलाई यथार्थपरक शैलीमा तयार पारिएको निर्देशक खत्रीले बताएका छन्।

राजेश प्रसाद खत्री स्वअध्ययनबाट फिल्म निर्माणमा आएका प्राथमिक विद्यालयका शिक्षक हुन्। उनको पहिलो लघु चलचित्र ‘अ क्युरियस गर्ल’ले सन् २०१८ मा बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ‘जेनेरेसन केप्लस’ विधामा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो। उनको दोस्रो चलचित्र ‘अ स्केरक्रो’ले पनि विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागिता जनाउँदै बुसानमा प्रिमियर गरेको थियो।

‘चुम्पा : अ डल अन्डर द बास्केट’ पिक्चर फ्रेम र फ्लिकर आर्ट्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। केदार भुसाल निर्माता, दिनेश राउत क्रिएटिभ प्रोड्युसर तथा रामलाल खड्का कार्यकारी निर्माता एवं प्रोडक्सन डिजाइनर छन्।

चलचित्रको छायांकन शरद महतो, सम्पादन पासाङ दावा शेर्पा र किरण श्रेष्ठ, लोकेसन साउन्ड तथा साउन्ड डिजाइन विपिन स्थापित, कलर ग्रेडिङ दिपेश चौधरी तथा संगीत सरुन मनन्धर र सबिन महर्जनले गरेका छन्।

पिक्चर फ्रेम र फ्लिकर आर्ट्स इन्टरटेनमेन्ट नेपाली स्वतन्त्र चलचित्र निर्माण कम्पनी हुन्। यी कम्पनीले यसअघि निर्माण गरेको ‘रिहाना’ले सन् २०२५ को बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरेको थियो।

बालविवाह, महिला अधिकार, शिक्षा र ग्रामीण नेपाली समाजको यथार्थलाई कथामा समेटेको ‘चुम्पा : अ डल अन्डर द बास्केट’ले बुसानको अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपाली ग्रामीण जीवनका कम सुनिएका आवाजलाई विश्व दर्शकमाझ पुर्‍याउने अवसर पाउनेछ।


बुधबार, ३१ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go