नेपालमा दर्शकको राम्रो साथ पाइरहेको नेपाली चलचित्र ‘बेहुली’ अब अमेरिकी दर्शकमाझ पुग्ने भएको छ। चलचित्र आगामी शुक्रबार अर्थात् सेप्टेम्बर १८ देखि अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउनेछ।
‘बेहुली’लाई अमेरिकामा ‘सेभेन सिज इन्टरनेशनल फिल्म्स’ले रिलिज गर्न लागेको हो। सार्वजनिक विवरणअनुसार चलचित्र अमेरिकाका २३ राज्यका विभिन्न हलमा प्रदर्शन हुनेछ।
चलचित्र टेक्सास, एरिजोना, केन्टकी, मेरिल्यान्ड, कोलोराडो, मिसौरी, नेब्रास्का, ओहायो, इलिनोइस, नेभाडा, न्यूयोर्क, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओरेगन, पेन्सिलभेनिया, साउथ डकोटा, युटा, क्यालिफोर्निया, आयोवा, विस्कन्सिन, अलास्का, म्यासाचुसेट्स र न्यु ह्याम्पसायरमा प्रदर्शन हुँदैछ।
अमेरिकाका विभिन्न राज्यमा रहेका सिनेमार्क, मार्कस, हार्किन्स, एप्पल सिनेमाजलगायतका हलमा चलचित्रका शो तय गरिएको छ।
प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार नेपालमा चलचित्रले पाइरहेको प्रतिक्रियापछि विदेशमा रहेका नेपाली तथा नेपाली चलचित्रप्रेमी दर्शकमाझ ‘बेहुली’लाई पुर्याउन लागिएको हो। उनका अनुसार अमेरिकापछि चलचित्र अन्य अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन गर्ने तयारी भइरहेको छ। ती देश र प्रदर्शन मितिबारे क्रमशः जानकारी सार्वजनिक गरिनेछ।
‘बेहुली’मा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँलगायत कलाकारको अभिनय छ। चलचित्रले नेपाली समाजको यथार्थ, युवा पुस्ताको मनोभाव र पारिवारिक सम्बन्धका भावनात्मक पक्षलाई कथाको केन्द्रमा राखेको छ।
माधव शर्माको लेखन तथा शशान कँडेलको निर्देशनमा बनेको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्। शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता रहेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd