logo

२०८३ असोज १ बिहिबार

‘एलिफेन्ट्स इन द फग’को पेरिस प्रदर्शनबाट बाढीपीडितलाई सहयोग जुटाइँदै

‘एलिफेन्ट्स इन द फग’को पेरिस प्रदर्शनबाट बाढीपीडितलाई सहयोग जुटाइँदै

52
SHARES
‘एलिफेन्ट्स इन द फग’को पेरिस प्रदर्शनबाट बाढीपीडितलाई सहयोग जुटाइँदै

नेपालबाट अस्कर अवार्डका लागि सिफारिस भएको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले विदेशमा पनि बाढीपीडितका लागि सहयोग जुटाउने अभियानलाई निरन्तरता दिने भएको छ। कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’अन्तर्गत जुरी प्राइज जितेको यो चलचित्रको फ्रान्समा विशेष च्यारिटी स्क्रिनिङ आयोजना गर्न लागिएको हो।

फ्रान्सेली रिलिजअघि सेप्टेम्बर १७ मा पेरिसस्थित यूजीसी लेस हाल्समा विशेष प्रिभ्यू प्रदर्शन हुनेछ। ‘नेपालसँगको ऐक्यबद्धता’ अभियानअन्तर्गत आयोजना हुने उक्त स्क्रिनिङमा निर्देशक अविनाश विक्रम शाह स्वयं उपस्थित हुनेछन्। फ्रान्सका लागि नेपाली राजदूतको पनि कार्यक्रममा उपस्थिति रहने बताइएको छ।

विशेष प्रदर्शनबाट फ्रान्सेली वितरकलाई प्राप्त हुने आम्दानी नेपाल सरकारले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावितका लागि स्थापना गरेको कोषमा सहयोगस्वरूप प्रदान गरिनेछ।

निर्देशक शाहले सिनेमा प्रदर्शनमार्फत पनि विपद्मा परेका नेपालीलाई सहयोग गर्न सकिने उद्देश्यले अभियान अघि बढाइएको बताएका छन्।

चलचित्रका निर्माता प्रचण्डमान श्रेष्ठ र मुख्य अभिनेत्री पुष्पा थिङ नुवाकोटका हुन्। बाढीका कारण निर्माता श्रेष्ठको घरसमेत प्रभावित भएको थियो। यही व्यक्तिगत सम्बन्ध र नेपालमा आएको प्राकृतिक विपद्प्रति ऐक्यबद्धता जनाउँदै चलचित्रको टोलीले विदेशमा समेत सहयोग अभियान सञ्चालन गरेको हो।

यसअघि चलचित्र टोलीले काठमाडौंमा पनि बाढीपीडितको सहयोगार्थ विशेष प्रदर्शन गरेको थियो। भदौ १७ गते आयोजित उक्त स्क्रिनिङबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा हस्तान्तरण गरिएको थियो।

‘एलिफेन्ट्स इन द फग’को फ्रान्सेली प्रदर्शन भने सेप्टेम्बर २३ बाट सुरु हुँदैछ। नेपालमा प्रदर्शनरत चलचित्रले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

अविनाश विक्रम शाह निर्देशित चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ। चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।

नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको चलचित्रका निर्मातामा अनुप पौडेल, जस्टिन पेचबर्टी, डेमियन मेघेर्बी र माइकल हेनरिक्स छन्।

सह–निर्मातामा प्रचण्डमान श्रेष्ठसँगै ब्राजिलका तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन्।

चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको चलचित्रमा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एशोसिएट निर्माता छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सह–निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एशोसिएट निर्माताका रूपमा जोडिएका छन्।


बुधबार, ३१ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go