logo

२०८३ असोज १ बिहिबार

‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक

‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक

26
SHARES
‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक

चलचित्र ‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । पारिवारिक सम्बन्ध, बुवाको त्याग र सन्तानको बदलिँदो व्यवहारलाई केन्द्रमा राखिएको ट्रेलरले मध्यमवर्गीय परिवारभित्रको भावनात्मक तथा आर्थिक संघर्षलाई प्रस्तुत गरेको छ ।

ट्रेलरमा सन्तानको भविष्यका लागि आफ्नो घरसमेत धितो राख्न तयार हुने बुवाको कथा देखाइएको छ । तर, जीवनभर छोराछोरीका लागि संघर्ष गर्ने बुवाको योगदानलाई छोराहरूले बेवास्ता गर्दा उत्पन्न हुने पारिवारिक तनाव कथाको मुख्य पक्ष बनेको छ ।

सम्पत्तिको विषयमा छोराहरूको महत्वाकांक्षा र व्यवहारले परिवारलाई थप समस्यामा धकेल्दै गएको देखिन्छ । बुवाले थोरै सम्पत्ति दिने कुरा गर्दा समेत स्वीकार गर्न नसक्ने छोराहरूको मनोवृत्तिमार्फत सन्तानको चाहना र अभिभावकको क्षमताबीचको दूरीलाई ट्रेलरले उजागर गरेको छ ।

बुवाआमाको समस्या आफ्नै सन्तानले नबुझ्दा उनीहरूले भोग्नुपर्ने पीडा, अपमान र आर्थिक संकटलाई पनि ट्रेलरमा स्थान दिइएको छ । छोराहरूभन्दा छोरीले अभिभावकको अवस्था बढी बुझ्ने संकेतसँगै छोरीको कथालाई भने निर्माण पक्षले रहस्यकै रूपमा राखेको छ ।

छोराहरूको अव्यावहारिक महत्वाकांक्षाका कारण एउटा सामान्य मध्यमवर्गीय परिवार कसरी आर्थिक संकटमा फस्छ भन्ने पक्ष पनि ट्रेलरमा देखिन्छ । परिवारको पीडा बुझ्ने छिमेकी, सकारात्मक सोच भएका बुवा र परिवारलाई सम्हाल्न खोज्ने छोरीबीचको सम्बन्धले कथालाई थप भावनात्मक बनाउने संकेत गरेको छ ।

‘बा : एक योद्धा’ असोज ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई चलचित्रको मूल कथाका रूपमा प्रस्तुत गरिएको छ ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीत दिएका हरि लम्साल संगीतकारसँगै रचनाकार र गायकसमेत हुन् । ‘बा : एक योद्धा’ उनको फिचर सिनेमातर्फको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा र पटकथा पनि लम्सालकै हो ।

वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।

शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।


बिहिबार, १ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go