सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयका अनुसार अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न इच्छुकले असोज ७ गते बुधबारसम्म आवेदन बुझाउनुपर्नेछ । आवेदनका लागि आवश्यक योग्यता, अनुभव तथा अन्य विवरणसमेत मन्त्रालयले सार्वजनिक गरेको छ ।
अध्यक्ष पदका लागि ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, कुनै पनि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, सम्बर्धन तथा प्रवर्धनका क्षेत्रमा कम्तीमा १० वर्ष निरन्तर काम गरेको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि अध्यक्षको जिम्मेवारीमा रहेका दिनेशराज दाहालको कार्यकाल समाप्त भएपछि चलचित्र विकास बोर्ड नेतृत्वविहीन बनेको थियो । सोही रिक्त पदमा नयाँ अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd