म्युजिकल फिल्म ‘ब्युटिफूल’ सार्वजनिक गरिएको छ । करिब सात मिनेट लामो यस म्युजिकल भिडियोमा समीर आचार्य र अञ्जुली हमालको स्वर रहेको छ भने शिभान्सी खड्काको फिचरिङ तथा अभिनय छ ।
गीतको शब्द र संगीत समीर आचार्यकै हो । रोशन विश्वकर्माले कोरियोग्राफी गरेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् । अनिल मानन्धरको छायांकन रहेको म्युजिकल फिल्मलाई सुनिल बिकले निर्देशन गरेका छन् ।
‘ब्युटिफूल’ले समाजमा स्थापित सुन्दरताको परम्परागत मान्यतामाथि प्रश्न उठाएको छ । विशेषगरी मेकअप, गोरो छाला र बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सोचप्रति भिडियोले व्यंग्यात्मक प्रश्न गरेको छ ।
म्युजिकल फिल्मले वास्तविक सुन्दरता मानिसको अनुहार वा बाहिरी आवरणमा नभई उसको सोच, व्यवहार र कर्ममा हुने सन्देश दिन खोजेको छ । वास्तविकता लुकाएर चम्किलो आवरण प्रस्तुत गर्नुलाई नै सुन्दरता ठान्नु भ्रम भएको भन्दै भिडियोले त्यस्तो भ्रमको पछाडि नलाग्न आग्रह गर्छ ।
मेहनत, परिश्रम र लगावका साथ आफ्नो जीवनमा स्वावलम्बी बन्ने व्यक्ति नै वास्तविक अर्थमा सुन्दर र सफल हुने निष्कर्ष ‘ब्युटिफूल’ले प्रस्तुत गरेको छ । यही भावमार्फत गीतले सुन्दरताको अर्थलाई बाहिरी रूपभन्दा माथि उठाएर कर्म र आत्मनिर्भरतासँग जोडेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd