logo

२०८२ माघ २६ आइतबार

logo
  • आइतबार, २६ माघ २०८२
  • वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने

    वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने

    156
    SHARES
    वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने

    नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने भएकी छिन्। हालै काठमाडौंमा उनले हिन्दी फिचर चलचित्र ‘रिमझिम गिरे सावन’मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता गरेकी छन्।

    सन् २०१६ को व्यावसायिक रूपमा सफल चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी वर्षाले ‘छक्का पन्जा’, ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘दाल भात तरकारी’ जस्ता ब्लकबस्टर चलचित्रहरू दिएकी छिन्। नेपाली रजतपटमा आफ्नो बलियो पकड जमाएकी वर्षाका लागि यो विदेशी भाषाको चलचित्रमा पहिलो मुख्य भूमिका हो। यससँगै उनी विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने सशक्त कलाकारको रूपमा अघि बढेकी छिन्।

    कथावस्तु र पृष्ठभूमि यो चलचित्र उत्तरी सिक्किमको लाचुङको रमणीय तर दुर्गम पहाडी भूभागमा आधारित एक सामाजिक ड्रामा हो। नेपाली समुदायको परिवेश समेटिएको यस चलचित्रले मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा ‘रिमझिम क्षेत्री’को सङ्घर्षपूर्ण कथालाई चित्रण गर्छ, जसमा रिमझिमको भूमिकामा राउतले अभिनय गर्नेछिन्। ‘रिमझिम गिरे सावन’ले प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि एक महिलाले गर्ने भावनात्मक र साहसी सङ्घर्षलाई पर्दामा उतार्ने निर्देशक अर्नब पलले बताए।

    यस चलचित्रलाई बङ्गाली चलचित्र उद्योगका बहु आयामिक निर्देशक अर्नब पलले निर्देशन गर्दैछन्। यसअघि ‘तान्त्रिक’ जस्तो क्राइम थ्रिलर र ‘मेघमल्लार’ जस्ता भावनात्मक कथा बोकेको चलचित्र निर्देशन गरिसकेका पलले ‘वृष्टि तोमाके दिलाम’ बाट नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारिसकेका छन्। साथै उनले सान्टियागो इन्टरनेशनल ग्लोबल फिल्म अवार्ड्स लगायतका प्रतिष्ठित महोत्सवहरूमा उत्कृष्ट निर्देशकको अवार्ड जितेर अन्तर्राष्ट्रिय प्रशंसा कमाइसकेका छन्।

    यस चलचित्रमा बलिउडका स्थापित कलाकारहरू सुब्रत दत्त, राजेश शर्मा, आशिष् विद्यार्थी र यशपाल शर्माको मुख्य भूमिका रहने पक्का भइसकेको छ। रिमझिमकी दिदी ‘रुन्झुन’को भूमिकामा कोलकाताकी कलाकार सुस्मिता बसुमता देखिनेछिन् भने ‘सावन’को भूमिकाका लागि एक चर्चित बलिउड अभिनेताको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ।

    अभिनय यात्राको नयाँ खुड्किलो आफ्नो नयाँ यात्राप्रति उत्साह व्यक्त गर्दै वर्षाले भनिन्, “मैले खोजिरहेको र मेरो अभिनय क्षमतालाई चुनौती दिने खालको भूमिका पाएकी छु। हिउँले भरिएको कठिन भूगोलमा छायाङ्कन गर्नु चुनौतीपूर्ण भए पनि यो मेरा लागि सिक्ने र बढ्ने अवसर हो। भारतमा ख्याति कमाएको टिमको चलचित्र र बलिउड कलाकारहरूसँग काम गर्न पाउनु मेरो लागि गर्वको कुरा हो।”

    निर्देशक अर्नब पलका अनुसार वर्षाको छनोट उत्कृष्ट अभिनय क्षमताका कारण गरिएको हो। नेपाली कलाकार नै छनोट गर्नुपर्ने अवस्था हिन्दी बोल्ने तर नेपाली लवजमा हुनुपर्ने भएको कारण रहेको उनले बताए। उनले वर्षालाई मनीषा कोइरालापछिको हिन्दी सिनेमामा सशक्त नेतृत्वदायी भूमिका निभाउने नेपाली अभिनेत्रीका रूपमा चित्रण गरे।


    मंगलबार, २९ पुष २०८२
    सम्बन्धित समाचार
    Go